हेटौंडाः मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीस्थित बज्रबाराही माविले चालु शैक्षिक सत्रको नतीजा शुक्रबार प्रकाशन गरेको छ । वार्षिक परीक्षाको मूल्यांकन गर्दा १५ प्रतिशतले सिकाई उपलब्धीमा सुधार भएको प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभएको छ । कोभिड–१९ को महामारीका कारण करिब २ वर्ष कमजोर बनेको सिकाई उपलब्धीलाई दुई वर्ष नियमित पठनपाठन र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गर्दा सिकाई उपलब्धीका सुधार भएको उहाँको भनाइ छ ।
शैक्षिकसत्रको सुरुवातमा नर्सरीदेखि कक्षा १२ सम्म ४ सय ७४ विद्यार्थी भर्ना भएकामध्ये ४ सय ३० जना मात्रै परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये ४ सय विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११ र १२ का विद्यार्थीलाई पनि आन्तरिक परीक्षाको रुपमा वार्षिक परीक्षा लिइएको प्रधानाध्यापक डंगोलले स्पष्ट पार्नुभयो । शुक्रबार नतीजा प्रकाशनसँगै विद्यालयले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । नतीजा प्रकाशनका बेला करिब ६० प्रतिशत अभिभावकको पनि उपस्थिति रहेको थियो ।
विद्यालयले शैक्षिक सुधारका लागि चालु शैक्षिकसत्रमा कक्षागत अभिभावक भेला गरेर अभिभावकलाई घरको वातावरण राम्रो बनाउन, विद्यालयमा आएर आफ्ना बाबुनानीको बारेमा बुझ्न आग्रह गर्नुले पनि शैक्षिक वातावरणसँगै सिकाई उपलब्धी पनि सुधार भएको प्रधानाध्यापक डंगोलले बताउनुभयो । आगामी शैक्षिक सत्रमा चालु कार्यक्रमलाई निरन्तरता दिई प्रविधिमा आधारित क्रियाकलाप गर्ने योजना रहेको प्रधानाध्यापक डंगोल बताउनुहुन्छ । विद्यालयको भौतिक संरचना राम्रो रहेको र आगामी दिनमा शैक्षिक क्रियाकलापमा ध्यान दिनुपर्ने प्रधानाध्यापक डंगोलको भनाइ छ ।