पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा–११ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपन वडा घोषणा गरिएको वडा अध्यक्ष जुना दाहालले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष जुना दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो । पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि ४ जना स्वास्थ्य स्वयंसेविकाहरुले तथ्यांक संकलन गरी आवश्यक तयारी गरेर पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा वडाका १ सय ६० बालबालिकालाई पूर्ण खोप लगाइएको र चालु आर्थिक वर्षमा १ सय ५६ बालबालिका पूर्ण खोप लगाउने सूचिमा समेटिएको थियो । खोप लगाउन छुटेका तीनजना बालबालिकालाई पनि खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।