हेटौंडाः हेटौंडामा भोलि सोमबारदेखि पाँचौ संस्करणको उपमेयरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मलेनको आयोजना गरी आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरले प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिताकोबारे जानकारी गराउनुहुँदै केशवलाल प्रतिष्ठानका सचिव त्रिबिक्रम रुपाखेतीले शनिबारसम्म पुरुषतर्फ १० टिम र महिलातर्फ ८ टिमले मात्र सहभागिता जनाएको बताउनुभयो । प्रतियोगिता हेटौंडा–१२ स्थित बुद्ध माविमा हुनेछ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय र विधागत उत्कृष्ट खेलाडीहरुलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाएको छ ।