इतिहासका विभिन्न कालखण्डमा भएका घटना तथा उपलब्धी हासिल भएको दिनलाई ऐतिहासिक दिनको रुपमा सम्झने गरिन्छ । नेपालको राजनीतिक इतिहासमा विभिन्न दिनहरुलाई ऐतिहासिक दिनको रुपमा लिने गरिन्छ । नेपाल एकीकरणसँगै नेपाल–अँग्रेज युद्ध हुँदै राणा शासन, बहुदलीय प्रजात्रान्तिक व्यवस्था, पञ्चायती शासनकाल, बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, माओवादी जनयुद्ध, लोकतन्त्र÷गणतन्त्र स्थापना, संघीय शासन व्यवस्थासम्म आइपुग्दा थुप्रै दिनहरु ऐतिहासिक महत्वका बनेका छन् । थुप्रै ऐतिहासिक दिनमध्ये एउटा दिन हो, जनआन्दोलन दिवस । आजकै दिन अर्थात् चैत २६ गतेलाई जनआन्दोलन दिवसको रुपमा स्मरण गर्ने गरिन्छ । २०४६ सालको आजकै दिन शान्तिपूर्ण जनआन्दोलनमार्फत् प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।

३० वर्षे पञ्चायती शासन व्यवस्था ढलेको दिनको सम्झनामा मनाइने यो दिवसलाई पछिल्ला वर्षहरुमा भुल्दै गएको देखिन्छ । निरङ्कुश पञ्चायती शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस र संयुक्त बाममोर्चाले संयुक्तरुपमा २०४६ फागुन ७ गतेदेखि सुरु गरेको जनआन्दोलन चैत्र २६ गते अन्त्य भएको थियो । चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रसँग बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्ने सम्झौता भएपछि जनआन्दोलन अन्त्य भएको थियो । सम्झौतापश्चात् राजा वीरेन्द्रले चैत २६ गते राति बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए । दलहरुमाथिको राजनीतिक प्रतिबन्धसमेत फुकुवा गरिएको थियो । त्यसपछि ३० वर्षे लामो पञ्चायती व्यवस्था विधिवत अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली भएको थियो । नेपालको राजनीतिक इतिहासमा प्रथम जनआन्दोलनको नामले समेत परिचित २०४६ सालको आन्दोलन पञ्चायती व्यवस्थाविरुद्ध भएको संघर्ष हो । यस आन्दोलन सफल बनाउन नेपाली काँग्रेस र सातवटा वामपन्थी दलहरुले सहकार्य गरेका थिए । आन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंह थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा थिए ।

झण्डै डेढ महिनासम्म देशैभर जनआन्दोलन चलेको थियो । जनआन्दोलनले चैत २४ गते उग्र रुप लिएको थियो । काठमाडौंको दरबारमार्गमा हजारौंको संख्यामा आन्दोलनकारीहरु भेला भएर नारायणहिटी राजदरबारतर्फ अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो संख्या आन्दोलनकारीहरुको मृत्यु भएको थियो । यस जनआन्दोलनमा दुई दर्जन बढीले सहादत प्राप्त गरेका थिए । आन्दोलनकै बीचमा राजाले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तैपनि आन्दोलन झन् चर्कने छाँट देखिएपछि तत्कालीन राजा वीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राति बहुदलीय ब्यवस्था पुनस्र्थापनाको घोषणा गरेका थिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनले सार्थकता पाएको दिनको सम्झनामा विगतमा विभिन्न कार्यक्रम गरेर जनआन्दोलन दिवस मनाउने गरिएको भए पनि पछिल्ला वर्षहरुमा औपचारिक कार्यक्रम भएको सुनिने गरेको छैन । २०६२ चैत २४ देखिको १९ दिने दोस्रो जनआन्दोलनपछि पहिलो जनआन्दोलनको महत्व कम हुँदै गएको देखिएको छ ।

राजनीतिक इतिहासमा निकै महत्वपूर्ण दिनहरुको गरिमा र महत्वलाई पछिल्ला दिनहरुमा बिर्सिंदै गएको अनभूति हुने गरेको छ । इतिहासमा महत्वपूर्ण यस्ता दिनहरुलाई दिवसको रुपमा औपचारिक मान्यता दिएर हरेक वर्ष स्मरण गरिनु आवश्यक छ । सरकारी तथा गैरसरकारी क्षेत्रले यस्ता दिवसहरुको महत्वलाई उजागर गर्ने गरी विविध कार्यक्रमहरु गरिनुपर्छ । ऐतिहासिक दिनलाई यसरी नै बेवास्ता गर्दै जाने हो भने यस्ता दिनहरु ओझेलमा पर्नेमात्र नभई इतिहासमेत मेटिने अवस्था आउन सक्छ । दोस्रो जनआन्दोलनले राजतन्त्र नै हटाएको हुँदा पञ्चायती शासन हटाएको पहिलो जनआन्दोलनलाई कम महत्व दिनु न्यायोचित हुँदैन । इतिहासको स्मरणका लागि पनि यस्ता ऐतिहासिक दिनहरु भुल्नु उचित हुँदैन ।