विद्यालय उमेरका सबै बालबालिकाको शिक्षा हासिल गर्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । सरकारले विद्यालय शिक्षालाई प्रभावकारी बनाउन वर्षेनि शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विशेष आग्रह गर्दै आएको छ । झण्डै २ दशक अघिदेखि यस्तो अभियान सञ्चालन गरेर विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रयत्न गरिँदै आएको हो । सामुदायिक तथा संस्थागत विद्यालयहरुले सरकारको आह्वानअनुरुप विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । कतिपय विद्यालयहरुले भने आफ्नो विद्यालयमा विद्यार्थी संख्या बढाउन भर्ना अभियानसँगै घरदैलो कार्यक्रमसमेत गर्दै आएका छन् । विद्यालय जाने उमेर समूहका लाखौं बालबालिका विद्यालय बाहिरै रहेको अवस्थामा यस्तो भर्ना अभियान प्रभावकारी हुनसक्ने यसरी भर्ना भएका विद्यार्थीलाई टिकाउनुमा यसको सार्थकता रहन्छ । अभियानमार्फत् भर्ना भएका विद्यार्थीले पढाइलाई निरन्तरता नदिँदा भर्ना अभियान निरर्थक बन्ने गर्दछ ।

अहिले चालु शैक्षिक सत्र अन्त्यतिर छ । अधिकांश विद्यालयहरुमा कक्षा ९ सम्मको वार्षिक परीक्षा सकिएको छ । परीक्षा सकिएसँगै विद्यालयले उत्तरपुस्तिका परीक्षण र नतिजाको तयारी गरिरहेका छन् । यसै क्रममा कतिपय विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीले भने भर्ना अभियान लिएर घरदैलो सुरु गरेका छन् । हेटौंडा–४, कर्रास्थित श्रमिक माविले पनि नयाँ विद्यार्थी भर्नाका लागि आइतबारबाट घरदैलो सुरु गरेको छ । दुईवटा समूह बनाएर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी विद्यालयको सेवाक्षेत्रको घरदैलो पुगेका छन् । विद्यालयले दुई दिन लगाएर घरदैलो गरेको हो । विद्यालयमा अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन भएको, शैक्षिक गुणस्तरमा सुधारको प्रयास भइरहेको, पूर्वप्राथमिक कक्षाको व्यवस्थापनलाई जोड दिइएको विषय समुदायमा पु¥याउन विद्यालयले घरदैलो गरेको बताइएको छ । विद्यालयले घरदैलो गरेर विद्यालय छाडेका तथा विद्यालय नै नगएका विद्यार्थीसमेत उल्लेख्य फेला पारेको भए पनि त्यस्ता विद्यार्थी भर्ना गरेर टिकाउनु चुनौतीपूर्ण हुने देखिन्छ ।

विशेषगरी शैक्षिक सत्रको सुरुवातमा विद्यालय नआएका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय शिक्षामा सहभागी गराउन सरकारले भर्ना अभियानमा जोड दिएको हो । यसैअनुरुप विद्यालयहरुले पनि आ–आफ्नो सेवाक्षेत्रमा भर्ना अभियान सञ्चालन गर्दछन् । भर्ना अभियानबाट विद्यालय बाहिर रहेको उल्लेख्य संख्यामा विद्यार्थीहरु विद्यालयमा भर्ना भएको तथ्यांकले देखाउने पनि गरेको छ । तर, भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नेतर्फ अझ धेरै मिहिनेत गर्नुपर्ने अवस्था अन्त्य भएको छैन । भर्ना अभियानबाट विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालय आए पनि विद्यालय आएका ती विद्यार्थी र अन्य विद्यार्थी टिकाउन नसक्दा अभियानको सार्थकता रहँदैन । कमजोर आर्थिक अवस्था भएका र सचेतना कम भएका अभिभावकका बालबालिकाले बीचमै विद्यालय छाड्ने अवस्था कम गर्न विगतमा जनप्रतिनिधिबाट त्यस्ता विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने अभियान सुरु भएको भए पनि त्यसले निरन्तरता नपाउँदा प्रभावहीन बनेको छ ।

विद्यालय जाने उमेरका बालबालिका विद्यालय नजानु एउटा समस्या हो भने विद्यालय भर्ना भएका विद्यार्थीले बीचमै पढाई छाड्नु थप चुनौती बनेको छ । कक्षा १ मा भर्ना भएका आधा विद्यार्थी पनि कक्षा १० सम्म नपुग्नुले विद्यालयमा विद्यार्थी टिकाउन नसकेको छर्लङ्ग हुन्छ । यसकारण संघीय, प्रदेश तथा स्थानीय सरकारले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई विद्यालयमै टिकाएर विद्यालय शिक्षा पूरा गराउन विशेष निगरानी र सहजीकरण गर्नु आवश्यक छ । विद्यालयहरुले पनि विद्यार्थी भर्नासँगै उनीहरुले बीचमै पढाई छाड्नसक्ने सम्भावनालाई सूक्ष्मरुपले अध्ययन गरी त्यसको निराकरण गर्नुपर्छ । यसका लागि विद्यार्थी भर्नासँगै विद्यार्थी टिकाउन आवश्यक उपायहरु अवलम्बन ग रिनु उचित हुनेछ ।