हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न वडाहरुमा देखिएको पानीको फोका जस्तो देखिने गरी पशुको छालामा डाबर निस्कने ‘लम्पी स्किन’ को संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गरिने भएको छ । उपमहानगरपालिका कृषि शाखाको समन्वयमा सोमबार बसेको निजी क्षेत्रका पशु प्राविधिकसँगको बैठकले रोग प्रभावित नगरका पाँच वटा वडामा आकस्मिक उपचार सुविधा बाहेकका अन्य सबै कार्यहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले रोगको नियन्त्रणका लागि पशु प्राविधिकले सुरक्षित भएर काम गर्ने, पशु गर्भाधानका लागि गरिँदै आएको कृत्रिम गर्भाधान सुविधा बन्द गर्ने, विज्ञ केन्द्रबाट प्राप्त भएको खोरेत रोग नियन्त्रणका लागि प्रयोग हुने (एफएमडी) खोप नगर क्षेत्रमा नलगाउने निर्णय भएको शाखा प्रमुख गंगा चौलागाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार नगरको ७, ११, १२, १७ र १८ नम्बर वडामा किसानले पालेको गाई र भैसीमा ‘लम्पी स्किन’ रोगको संक्रमण फेला परेसँगै सचेतना अपनाउने र रोगको नियन्त्रणका लागि काम गर्ने निर्णय गरिएको हो । रोगका कारण पशुको ह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्निने, दुध उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने शाखाले जनाएको छ ।

शाखाले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई/भैंसी खरिद बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउनका लागि नलैजान आग्रह गरेको छ । बैठकमा कृषि शाखा गंगा चौलागाई, डा. अनुसा लम्साल, सहायक पशु विकास अधिकृत कृष्णप्रसाद भट्टराईसहित पशुसेवा केन्द्रका प्रमुख तथा निजी पशु प्राबिधिकहरु सहभागी थिए ।