हेटौंडाः विश्व अटिजम जागरुकता दिवसको अवसरमा हेटौंडा बुद्धचोकमा आइतबार दीप प्रज्वलन गरिएको छ । हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलित गर्दै डा. खड्काले अटिजम वंशाणुगत (जेनेटिक) आधारमा बालबालिकामा हुने जानकारी दिनुभयो । यसको औषधीय उपचार सम्भव नभएको भन्दै डा. खड्काले थेरापीबाट यसको उपचार हुनसक्ने जानकारी दिनुभयो । सबै मिलेर अटिजमविरुद्ध जनचेतना जगाउन जरुरी रहेको उहाँले बताउनुभयो । व्यवहार विकार भएको बच्चालाई ठिक पार्न यो दिवसले सचेतना प्रदान गर्ने फिजियोथेरापिस्ट शर्मिका श्रेष्ठले जानकारी दिनुभयो । विश्व अटिजम जागरुकता दिवस प्रत्येक वर्ष अप्रिल २ मा मनाइन्छ ।
काठमाडौंमा थेरापी गराइरहेका अभिभावकहरुले हेटौंडामै अटिजमको थेरापी सेवा सुरु गराउन दबाव दिने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाइ छ । हेटौंडामा पनि अटिजमसम्बन्धी समस्या भएका बालबालिकाको स्याहार गर्ने गरी सेन्टर फर अटिजम हेटौंडामा सञ्चालित छ । सेन्टरमा १५ जना बालबालिका नियमित थेरापी सेवाका साथै हेरचाहका लागि ल्याइन्छ । हेटौंडा–४ स्थित सेन्टर फर अटिजममा आफ्ना बालबालिका लैजाने अभिभावकले थेरापी र उचित स्याहारका कारण आफ्ना बालबालिकामा सकारात्मक सुधार आएको बताउँछन् ।