घरदैलो अभियानमा अभिभावकसँग अन्तरक्रिया गर्नुहुँदै शिक्षकहरु ।

हेटौंडाः विद्यालयमा कक्षा ९ सम्मको वार्षिक परीक्षा सकिएको छ । एसईई जारी छ । ९ कक्षासम्मको नतीजा पालिका तहमै र विद्यालय तहमै तयार पारी सार्वजनिक गरिन्छ । नतीजा सार्वजनिक हुन अझै एक साता भन्दा बढी समय लाग्नेछ । यसबीचमा विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी भने भर्ना अभियान लिएर घरदैलो सुरु गर्न थालेका छन् ।

हेटौंडा–४, कर्रास्थित श्रमिक माविले नयाँ विद्यार्थी भर्नाका लागि आइतबारबाट घरदैलो सुरु गरेको छ । आइतबार पहिलो दिन दुईवटा समूह बनाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी घरदैलो पुगेका छन् । पहिलो दिन विद्यालयको प्रभाव क्षेत्रको रुपमा रहेको हेटौंडा–४, कर्रा, गर्दोई, हेटौंडा–८, मैदाटोल, हेटौंडा–९, कर्रातर्फ घरदैलो गरिएको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । पछिल्लो समय विद्यालयको शैक्षिक क्रियाकलापमा गरिएको सुधार, अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको र पूर्वप्राथमिक कक्षालाई बालमैत्री बनाइएको विषय समुदायमा जानकारी गराइएको प्रधानाध्यापक दाहालले बताउनुभयो ।

निजी विद्यालयको भन्दा स्तरीय शिक्षा दिएर निजी विद्यालयको महंगो शूल्कको मारमा परेका अभिभावकलाई राहत दिने प्रयास भइरहेको र अभिभावकलाई विश्वस्त हुन विद्यालयनै आएर अवलोकन गर्न निम्ता गरिएको पनि प्रधानाध्यापक दाहालको भनाइ छ । यसपटक श्रमिक माविले पूर्वप्राथमिक तहका कक्षाकोठा र पठनपाठनलाई प्रभावकारी बनाएको, पूर्वप्राथमिक तहदेखि कक्षा १, २, ६, ७ र ९ मा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गरिएकोले पनि अभिभावकको आकर्षण बढ्ने प्रधानाध्यापक दाहालको दावी छ ।

घरदैलो अभियानमा सहभागी शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र पूर्वविद्यार्थी ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की समुदायको विश्वास जितेरै बालबालिकालाई विद्यालयमा स्वागत गर्ने तयारी भएको बताउनुहुन्छ । घरदैलो पुगेर अभिभावकलाई विश्वास दिलाउने प्रयास गरिएको र विद्यालय परिसर आएर अभिभावकले हेर्दा आफ्ना बाबुनानीलाई विद्यालय पठाउन ढुक्क हुने वातावरण तयार पारिएको अध्यक्ष कार्कीको दावी छ । अघिल्लो शैक्षिक सत्रमा २ सय ५० विद्यार्थी रहेको श्रमिक माविमा चालु शैक्षिक सत्रको सुरुवातमा ४ सय २५ विद्यार्थी संख्या पु¥याएको थियो । आगामी शैक्षिक सत्रमा ६ सयको हाराहारीमा विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो । विद्यालयले आज सोमबार पनि घरदैलो कार्यक्रम गर्दैछ ।

घरदैलो गर्ने क्रममा अभिभावकसँग पर्याप्त छलफल गरिएको र अभिभावकलाई विश्वस्त तुल्याउने प्रयास भएको विद्यालय सहायक प्रधानाध्यापक गोपिरमण प्याकुरेलले बताउनुभएको छ । अभिभावकलाई विद्यार्थी भर्ना गर्नुअघि विद्यालयको वातावरण हेर्न, बुझ्न आग्रह गरिएको बताउनुहुँदै सहायक प्रधानाध्यापक प्याकुरेलले भन्नुभयो, “यसपटक अभिभावकको विश्वास जितेर विद्यार्थीको संख्या बढाउने र गुणस्तरीय शिक्षालाई सुनिश्चित गराउने विद्यालयको तयारी छ ।” घरदैलो गर्नुअघि व्यवस्थापन समिति, शिक्षक अभिभाक संघ, शिक्षक, अभिभावक, पूर्वविद्यार्थीबीच अन्तरक्रिया गरी सबै मिलेर विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्ने आधार तयार पारिएको प्याकुरेलको भनाइ छ ।