पशुपतिनाथ माविको अभिभावक भेलाको तस्विर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविको आइतबार सम्पन्न अभिभावक भेलाले माधव गौतमलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको छ । तेस्रो कार्यकालका लागि गौतमलाई अध्यक्ष चयन गरेको हो ।

दुई कार्यकाल अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षककाबीचमा लोकप्रिय बन्नुभएको छ । स्रोत साधनको अभावमा पनि विद्यालय व्यवस्थापन समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि बागमती प्रदेश सरकारले गौतमलाई प्रदेशदीप प्रदान गरेको थियो । यसअघि भेलालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले पशुपतिनाथ माविको भौतिक र शैक्षिक विकासका लागि आफू सदैब लागिरहने बताउनुभएको छ । विद्यालयको भौतिक प्रगति राम्रो भएको र आगामी दिनमा शैक्षिक उपलब्धी बृद्धि गर्नका लागि सबै पक्षले एकताबद्ध भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

विद्यालयको पुस्तकालय भवन निर्माण गर्न आफूले बोलेको सहयोग जारी राख्ने बताउँदै प्रमुख अतिथि बानियाँले दुखमा साथ दिन तयार रहेको बताउनुभयो । अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले पशुपतिनाथ माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकमा सकारात्मक उर्जा रहेको बताउनुभयो ।

कार्यक्रममा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्ववडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, विव्यस पूर्वअध्यक्षहरु रामहरि ढकाल, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेवी शंकर न्यौपाने, उद्धव बिष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।