ईन्द्रबहादुर बस्नेत, अध्यक्ष हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.

आज चैत २० गते सोमबार राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । सहकारी सहकार्यको अभ्यास हो । सहकारीमार्फत नेपाली समाजमा बहुपक्षीय लाभको अवसरका साथै कतिपय चुनौती पनि देखिएका छन् । राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ईन्द्र बहादुर बस्नेतसँग समृद्ध समाज दैनिकका संवाददाता बसन्त भण्डारीले गर्नुभएको कुराकानीः

समाजः तपाई आबद्ध हुनुभएको सहकारीले के–के काम गरेको छ ?

बस्नेतः म आबद्ध रहेको सहकारी हेटौंडा बचत तथा ऋण सहकारी संस्था हो । यसले सहकारीको ७ सिद्धान्तमा रहेर समुदायलाई दिनुपर्ने, पु¥याउनु पर्ने सुविधा र सहकारी ऐन–नियममा रहेर हामीले दिनसक्ने सुबिधाहरु दिलाएका छौं ।

समाजः सहकारीको अभियानले समाजमा कस्तो प्रभाव पारेको देख्नुभएको छ ?

बस्नेतः सहकारीको अभियानले समाजमा धेरै राम्रो प्रभाव पारेको छ । तर अहिले आएर बिचौलिया सहकारी र बोर्ड मात्रै झुण्ड्याउने सहकारीले गर्दा समुदायमा आबद्ध भएर काम गरेको सहकारीलाई अली असहज स्थिति सिर्जना भएको छ । सहकारीले द्वन्द्वकालमा पनि गाउँगाउँमा गएर सुबिधा दिएको थियो । तर अहिले आएर सानो दुई–चार वटा सहकारीमा समस्या हुँदा अरु सहकारीमा पनि समस्या छ कि भन्ने जनमानसमा छाप परेको छ । यो दुखद् कुरा हो ।

समाजः सहकारीको विषयमा आममानिसको बुझाई के छ भन्ने लाग्छ ?

बस्नेतः आममानिसमा अहिलेसम्म सहकारीको विषयमा अर्ध बुझाई छ । किनकि सहकारी भनेको एउटा कमाई खाने भाँडो हो भन्ने गरेको पाईन्छ । तर जसले सहकारीको अभियानमा लागेर सहकारीको भावना, महत्व बुझ्नुभएको छ उहाँले सहकारी राम्रो हो भन्ने गरेका छन् । केही बिचौलियाले गर्दा सहकारीलाई नकारात्मक प्रभाव परेको छ ।

समाजः सहकारीमा असाध्यै ध्यान दिनुपर्ने कुराहरु के रहेछन् ?

बस्नेतः सहकारीको पारदर्शिता हुनुप¥यो । सदस्यहरुसँग घुलमिल हुनुप¥यो । सहकारीको कर्मचारी, संचालकहरु अनुशासित हुनुप¥यो । आर्थिक लोलुपता हुनुभएन र सदस्यहरुको आर्थिक सुरक्षामा ध्यान पुग्नुपर्छ ।

समाजः सहकारीको अवधारणा अनुसार सहकारी अघि बढेको छ कि छैन ?

बस्नेतः धेरै सहकारीहरू अवधारणा अनुसारनै अघि बढेका छन् । मकवानपुरमा जिल्ला सञ्जालदेखि सहकारी संघहरु छन् र सहकारीको अवधारणा अनुसार नै हामीले अगाडि बढाइरहेका छौं । तर बाहिर–बाहिरका केही झोले सहकारीहरुले सहकारीको अवधारणा धमिलो गराउने काम भने गरेका छन् ।

समाजः पछिल्लो समय जनमानसमा सहकारीप्रति केही नकरात्मक प्रभाव परेको देखिन्छ । नराम्रो काम गर्ने सहकारीहरुलाई र जनमानसलाई कस्तो सन्देश दिन चाहानुहुन्छ ?

बस्नेतः त्यस्तो सहकारीलाई सरकारले नियमन गरेर सदस्यको रकमको ग्यारेन्टी गरिदिनुप¥यो र जनमानसले पनि सदस्य लिनुपूर्व सहकारी कस्तो हो, वार्षिकरुपमा साधारण सभा गरेको छ कि छैन ? आर्थिक प्रतिवेदन पेश गर्छ कि गर्दैन ? संचालक कहाँको छ ? सहकारी कहाँ दर्ता भएको छ ? उसको कार्यक्षेत्र के–के हो ? सबै बुझेर मात्रै सदस्य लिन अनुरोध गर्छु ।

समाजः वित्तीय संस्थाहरुबिरुद्ध ऋण नातिरौं भन्ने अभियान आइरहेका छन् । एक सहकारी संस्थाको अध्यक्षको रुपमा यसलाई कसरी लिनुभएको छ ?

बस्नेतः मैले यसलाई गम्भीर रुपमा लिएको छु । त्यो एउटा भ्रम मात्रै हो । भ्रममा नपरिदिनुहुन अनुरोध गर्दछु ।