घनश्याम घिमिरे, समीक्षक ।

हामी बर्ष २०७९ को संघारतर्फ उन्मुख छौं । हरेक बर्षको सुरुवातमा नयाँ योजनाहरु साथमा रहनुपर्छ भने बर्षको अन्त्यमा त्यसको समीक्षा जरुरी हुन्छ । बर्ष २०७९ को अन्तिम महिनाको तेस्रो साता चलिरहँदा बर्ष २०७९ मा मकवानपुरको साहित्यिक पक्ष कस्तो रह्यो ? मकवानपुरे साहित्यको सवल र दूर्वल पक्षका बारेमा समृद्ध समाज दैनिकका संवाददाता रामकृष्ण घोरासाइनीले मकवानपुर बहुमुखी क्याम्पसका नेपाली भाषा, साहित्यका उपप्राध्यापक एवम् समीक्षक घनश्याम घिमिरेसँग गर्नुभएको कुराकानीः

समाजः २०७९ सालमा मकवानपुरको साहित्यिक क्रियाकलापलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

घिमिरेः समग्रमा यो बर्षको मकवानपुर जिल्लामा भएको साहित्यिक गतिविधि औषत रुपमा रह्यो भनेर बुझनुपर्छ । अब साहित्यिक गतिविधिहरुलाई साहित्यिक कार्यक्रम के कति भए र साहित्यिक प्रकाश के कति रहे, साहित्यिक पठनको दृष्टिकोण कस्तो रह्यो र मकवानपुर क्षेत्रका श्रष्टाहरुको राष्ट्रियस्तरको कुन किसिमको उपस्थिति रह्यो भन्ने कुरा विश्लेषण गर्नुपर्छ । त्यसरी विश्लेषण गर्दा साहित्यिक कार्यक्रमहरु तीव्ररुपमा भएको, बाल साहित्यको क्षेत्रमा नवसर्जकलाई भित्र्याउने क्रममा महत्वपूर्ण काम भएको, विभिन्न विद्यालयमा आकर्षण देखिएको, केहि गाउँपालिकाहरुले साहित्यिक कार्यक्रम गर्न योगदान दिएको जस्ता कुराहरु नव प्रवर्धक कुरा रहेको छ । तर हेटौंडामा रहेका साहित्यिक राष्ट्रिय साहित्यिक रंगमञ्चमा देखिने क्रमको दृष्टिकोण हेर्दा यो बर्ष हेटौंडाको साहित्यिक औषत रहेको देखिएको छ ।

समाजः राष्ट्रियरुपमा मकवानपुरको साहित्यिक अवस्थालाई कुन स्तरको मान्न सकिन्छ ?

घिमिरेः राष्ट्रियस्तरमा जुन किसिमले साहित्यिक गतिविधि भएको छ, साहित्यिक लेखनका नयाँ–नयाँ प्रवृत्तिहरु देखिएका छन्, त्यसमा मकवानपुुरमा हस्तक्षेप कुन स्तरको रह्यो भन्ने आधारमा जाँचिनु पर्ने मलाई लाग्छ । मकवानपुर क्षेत्रमा विशेषगरी यो बाल साहित्यको क्षेत्रमा नवसर्जकको क्षेत्रमा राष्ट्रियस्तरमा नै देखिने गरी, बुझिनेगरी र छामिने गरी काम भएको छ । अरु समिक्षा क्षेत्रमा र कविता लेखनको क्षेत्रमा धेरै उपस्थिति छैन कि भन्ने लागेको मेरो बुझाइ रहेको छ ।

समाजः साहित्यिक संघ, संस्थाका क्रियाकलापलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

घिमिरेः साहित्यिक संघ, संस्थाका क्रियाकलाप प्रशंसनीय रहेका छन् । जुन किसिमका साहित्यिक संघ, संस्थाहरु मकवानपुर क्षेत्रमा सक्रिय रहेका छन् उनिहरुले क्यालेण्डर नै बनाएर बार्षिक कामहरु गर्ने गरेका छन् । ती कामहरु हेर्ने हो भने साहित्यिक संघ, संस्थाको स्थानीयस्तरको क्रियाशीलता राम्रो रहेको छ । केहि राष्ट्रियस्तरको कामहरु पनि यो बीचमा राम्रो भएको, अनलाइनका कार्यक्रमहरुले पनि निरन्तरता पाएको हेर्दा साहित्यिक संघ, संस्थाका कार्यक्रम गर्ने सन्दर्भ प्रशंसनीय रहेको छ ।

समाजः मकवानपुरे साहित्यको सवल पक्ष र सुधार गर्नुपर्ने पक्ष के छ ?

घिमिरेः सुधार गर्नुपर्ने मूल कुरा हामीले मकवानपुरे साहित्य भनेर मात्र पुगेन । हाम्रो लेखाइले नेपाली साहित्यलाई हस्तक्षेप गर्न सक्नु पर्छ । नेपाली साहित्यलाई समग्रमा माथि उठाउन सक्नुपर्छ । मैले जे लेखेको छु त्यो नै ठिक छ भनेर आत्माश्लगामा रमाउने बानीले हामीलाई अझ कुण्ठित बनाइदिन्छ । त्यो चैँ मकवानपुरे साहित्यको समस्या देखेको छु । साहित्य न मकवानपुरे हुन्छ न हेटौंडेली हुन्छ । साहित्य त समग्रमा शास्वत साहित्य हुन्छ । तर आफूले मकवानपुरे साहित्य भनेर चिनाउनु परेको त्यो नै हाम्रो कमजोरी हो । मकवानपुरे सहित्यबाट माथि उठेर समग्र नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्ने सामथ्र्य बनाउन सक्नु पर्ने टड्कारो आवश्यकता देखेको छु ।

समाजः आगामी बर्ष मकवानपुरको साहित्यिक सम्भावना के देख्नुहुन्छ ?

घिमिरेः अब सम्भावना पनि छ । जस्तो पालिकास्तरबाट कला, साहित्य, संस्कृतिका लागि बजेटहरु छुट्टिएको । ती बजेटहरु कार्यान्वयनमा नआइरहेको सन्दर्भलाई बुझ्न सक्यौँ भने साहित्यिक व्यक्तित्वहरुले ति बजेट अधिकतम उपयोग गरेर साहित्य, कला, संस्कृतिको क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउन सके एउता सम्भावना रहेको छ । जसमा बकैया गाउँपालिकाले स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने काम र झरना साहित्यसँग समन्वय गरेर साहित्यिक गतिविधिहरु बर्षैभरि गर्ने कामहरु भएको छ । त्यस्तै काम अन्य पालिकाले पनि गर्ने, गराउने प्रयत्न तिर हामी लाग्नु पर्छ । अर्को कुरा हामीले स्थानीयस्तरमा हामीले कार्यक्रम गराउँदै गर्दा राष्ट्रियस्तरमा नै हलचल ल्याउने किसिमको धक्का महसुस गराउने किसिमको साहित्यिक कार्यक्रम गर्न आवश्यक रहेको छ ।