गुगल तस्विर ।

हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, फलामेचौरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मृत्यु हुनेमा १२ बर्षीय दिपेश श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

खेतबाट काम गरी फर्किने क्रममा घर नजिक रहेको एघार हजार भोल्टेजको मेन लाईनले तान्दा अभिभावकसँगै रहेका दिपेशको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ भने ४० बर्षीय फत्तबहादुर श्रेष्ठ करेन्ट लागेर गम्भीर घाईते भएका छन् । घाईते श्रेष्ठलाई उपचारका लागि पाटन अस्पताल ललितपुर लगिएको र बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको माडी नगरपालिका–९, बगईमा एकजना बालक मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला पर्नेमा राम रानाभाटको १८ महिने छोरा प्रदिप रानाभाट रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बालक बिहीबार हराएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहान ११ बजेको समयमा घर नजिकैको कुलोको ह्युमपाईपमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको माडी नगरपालिका–९ टमट्टामा एक जना पुरुष मृत फेला परेका छन् । मृतक ४७ बर्षीय शिव प्रसाद भण्डारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । भण्डारी बुधबारदेखि घरबाट हिँडेकोमा आफन्तले खोजतलास गर्ने क्रममा बिहीबार बिहान ८ बजे घर नजिकै बारीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धान गर्दा भण्डारी अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेको पाइएको र शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।