केही समययता पठन संस्कृतिको विकासमा नागरिकस्तरमा विभिन्न अभियान सञ्चालन भइरहेका छन् । गत वर्षदेखि पुस्तकालय अभियान समूहले समुदायमा आधारित पुस्तकालय स्थापनाको अभियान नै सञ्चालन गरेको छ । विद्यालयमा पनि पठन संस्कृतिको विकासका लागि चासो देखिएको छ । पठन संस्कृतिकै लागि विद्यालयमा पुस्तक प्रदर्शनी तथा विक्री अभियान सञ्चालन भइरहेको छ । हालै किताब घर समेत सञ्चालनमा ल्याउनुभएका साहित्यकार छवि अनित्यसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले पठन संस्कृति र पुस्तक अभियानको विषयमा गर्नुभएको कुराकानीः
अहिलेसम्म तपाईले ९ वटा विद्यालयमा पुस्तक प्रदर्शनी गरिसक्दा कस्तो अनुभव रह्यो ?
छविः बालबालिकाका लागि अत्यावश्यक वस्तु पुस्तक पनि हो । हेटौंडाको सन्दर्भमा म आफै पनि अभिभावक भएको हिसाबले मेरो बालबालिकाको क्षमता अभिवृद्धिका लागि पुस्तक खोज्दै गर्दा यहाँको बजारमा पाठ्यक्रम बाहेकका अन्य पुस्तकहरु मैले पाउन सकिन । बेला–बखत काठमाडाँै जानेबेलामा पुस्तकहरु किनेर ल्याउथेँ र छोराछोरीलाई उपलब्ध गराउथेँ । पछिल्लो समयमा म शिक्षण पेशाबाट अलग भइसकेपछि फुर्सदिलो समयमा मेरो जस्तै अरु अभिभावकको समस्यालाई मध्यनजर गरेर मैले यो अभियान थालनी गरेको हुँ । सांग्रीला किताब प्रकाशक गृह र सम्पूर्ण पुस्तक वितरकको महत्वपूर्ण सहयोगमा मैले पछिल्लो समयमा केही स्थानका विद्यालयहरुमा पुस्तक प्रदर्शनी गर्ने अवसर मिल्यो । पुस्तक प्रदर्शनी गर्दैगर्दा विद्यार्थीहरुसँग नजिक रहेर बुझ्दा पाठ्यक्रम बाहेकका नजिकको घुलमिल हुन सक्ने चीज भनेको मोबाइल नै रहेछ । घरमा अभिभावकले मोबाइल सजिलै उपलब्ध गराइदिने तर पाठ्यक्रमबाहेकका पुस्तक उपलब्ध नगराइदिने भएकाले विद्यार्थीहरुले बढी समय मोबाइल मै व्यतित गरेको थाहा पाएँ । मेरो अनुभवअनुसार बालबालिकाहरु अल्छी गरेर नपढेको नभई अवसर नपाएर नपढ्ने रहेछ ।
पुस्तक प्रदर्शन गर्दै गर्दा विद्यार्थीहरुको आकर्षण र अभिभावकको चासो कस्तो पाउनुभयो ?
छविः एउटा विद्यालयमा भएको पुस्तक प्रदर्शनीमा एकैदिनमा तीन सयभन्दा बढी पुस्तक बिक्री भएको छ । यसलाई हेर्दा विद्यार्थीको पुस्तकप्रतिको आकर्षण धेरै देखिन्छ । किताब देखिसकेपछि बालबालिकाको पढ्नुपर्छ भन्ने मानसिकता रहेको थाहा पाएँ । हामीले नै हाम्रा बालबालिकालाई किताब चिनाउन नसकेको महसुस पनि गरे ।
बालबालिकाले विद्यालयको पाठ्यक्रमको किताब पनि पढेर नसकिरहेको भन्ने अवस्थामा अतिरिक्त किताबहरु पढ्न कसरी सम्भव होला ?
छविः अहिलेको सन्दर्भमा पाठ्यपुस्तक मात्र पढ्ने विद्यार्थीहरुले भन्दा पाठ्यपुस्तक र बाहेकका पुस्तकहरु पढ्ने विद्यार्थीहरुले सजिलै समय व्यवस्थापन गरिरहेको देखिन्छ । यसरी हेर्दा बालबालिकालाई समय नपुगेर भन्दा पनि समय व्यवस्थापन गर्न नसकेको देखिन्छ । यसका लागि अभिभावकले थोरै मात्र सहजीकरण गरिदिनुभयो भने बालबालिकाले समय व्यवस्थापन गरी पाठ्यपुस्तक बाहेकका किताबहरु पनि पढ्छन् ।
पढ्ने बानीको विकास नहुनुको कारण के पाउनुभयो ?
छविः पढ्ने बानीको विकास हुन नसक्नुको प्रमुख कारण भनेको औपचारिक शिक्षा तथा पाठ्यपुस्तक बाहेक अरु पुस्तक पढ्नुहुँदैन भन्ने मानसिकता हो । अभिभावकले यो बुझाइमा परिवर्तन गराई प्रत्येक हप्तामा १÷२ वटा पुस्तक उपलब्ध गराइदिएमा पढ्ने बानीको विकास हुनुका साथै सजिलै अक्षरहरु चिन्न सक्ने पनि देखिन्छ ।
यो विषयलाई लिएर विद्यालयमा शिक्षकहरुको बुझाई कस्तो पाउनुभयो ?
छविः हेटौंडाको सन्दर्भमा अहिले केही शिक्षकहरुले पढ्ने बानीको विकास गर्नुभएको छ । केही शिक्षकहरु आफै केही समय अगाडिदेखि पुस्तकालय अभियानमा पनि लागीरहनु भएको छ । विभिन्न साहित्यिक संघ, संस्थाहरुले पनि त्यसै अनुसारकोे कार्यक्रमहरु गर्दै आएका छन् । तर समग्र नेपालमा हेर्ने हो भने विशेषगरी शिक्षण र पत्रकारिता पेशामा लागेका व्यक्तिहरुको अध्ययन गर्ने बानी एकदमै कम देखिन्छ । बाहिरबाट हेर्दा शिक्षक र पत्रकारहरु सबैभन्दा धेरै पढेको जस्तो देखे तापनि वास्तविकतामा भने त्यो पाइँदैन । शिक्षकहरुले चाहिँ यत्तिका बर्ष पढेर, पास गरेर शिक्षक बनिसकेपछि अब किन पढ्ने ? भन्ने धारणाले नपढिरहेको पाएँ भने पत्रकारहरु चाहिँ सबै कार्यक्रमहरुमा पुगेकै हुन्छ, सबैले बोलेको सुनेकै हुन्छ, किताबमा पनि त्यही कुरा त आउने होनि किन पढ्ने ? भन्ने मानसिकताले नपढिरहेको पाएँँ ।
विद्यार्थीहरुलाई पुस्तकप्रति आकर्षित गर्न शिक्षकहरुले के के गर्नुपर्ला ?
छविः विद्यालय तहमा रहँदा विद्यार्थीहरुको मेरो स्तर के हो, मेरो क्षमता कस्तो छ, मेरा लागि कस्ता किताब उपयुक्त हुन्छ भन्ने कुराहरुको निर्णय गरी त्यो अनुसारको किताब छनौट गर्न सक्ने निर्णय क्षमतामा विकास भइसकेको हुँदैन । त्यसकारण शिक्षकहरुले यो कुरामा विद्यार्थीहरुलाई सहजीकरण गर्न आवश्यक छ । त्यसैगरी शिक्षकहरुले आफ्नो विद्यालयको पुस्तकालयमा विद्यार्थीको रुचि, प्रकृति र आवश्यकताका आधारमा पुस्तक उपलब्ध गराउन सक्नुपर्छ । उपलब्ध पुस्तकहरुमध्ये विद्यार्थीको उमेर, प्रकृति र रुचिको आधारमा सही पुस्तक छनौटमा सहजीकरण गरिदिनुपर्छ । अर्काे कुरा किताब किन पढ्ने र त्यो किताब पढेर के के सिक्ने भन्ने कुरा विद्यार्थीहरुलाई शिक्षकले बुझाउन सक्नुपर्छ ।