ढाका बुनाई तालिम उद्घाटनको तस्विर ।

हेटौंडाः दिगो आय आर्जनमा महिलालाई जोड्नका लागि हेटौंडामा २ महिने ढाका बुनाई तालिम सुरु भएको छ । मुख्य बजार क्षेत्रमा रहेको हेटौंडा १० को वडा कार्यालयमा “सीप सिकौं, स्वरोजगार बनौं” भन्ने नाराका साथ सुरु भएको तालिमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले आइतबार उद्घाटन गर्नुभयो ।

तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख लामाले घरमै बसेर रोजगारीको अवसर सिर्जना गर्न तालिमले मद्दत पुग्ने बताउनुभयो । तालिम प्रमाणपत्र लिनका लागि मात्र नभई दिगो आयआर्जनमा जोडिनका लागि भएको भन्दै सीपलाई सदुपयोग गर्न सुझाव दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको तालिममा १० जनाले प्रशिक्षण लिने छन् ।

कार्यालयका प्रमुख टिका शर्माको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, सदस्यहरु इश्वर मैनाली, गोमा सुनार, तालिमका प्रशिक्षकहरु बेली रानामगर, दुर्गा दुर्गा लुंगेलीको आतिथ्य रहेको थियो ।