हेटौंडाः रोटरी क्लब अफ मकवानपुरको आयोजनामा सिन्धुली र सर्लाही जिल्लामा भएको निशुल्क आँखा शिविरमा थप ७६ जनामा मोतिविन्दु देखिएको छ । बुधबार सिन्धुलीको हरीहरपुरगढी–३ स्थित पिपलमाढी स्वास्थ चौकीमा भएको आँखा शिविरमा २ सय ५० जनाको आँखा परीक्षण गर्दा ४० जनामा र सर्लाहीको ईश्वरपुर नगरपालिका–५, रानीगञ्जमा १ सय ३८ जनाको आँखा परीक्षण गर्दा ३६ जनामा मोतिविन्दु देखिएको छ ।
यसअघि मंगलबार रोटरी क्लब अफ मकवानपुरको आयोजनामा बारा र सिन्धुली जिल्लामा भएको निशूल्क आँखा शिविरमा ७३ जनामा मोतिविन्दु पहिचान भएको थियो । भोलि बिहीबार मकवानपुरको कैलाश गाउँपालिका–९, नामटार र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा आँखा शिविरको आयोजना हुनेछ । शिविरमा मोतिबिन्दु पहिचान भएका विरामीको शुक्रबारदेखि हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गर्न सुरु गरिने जनाएको छ ।