पारिस्थितिक प्रणालीको दृष्टिकोणबाट हरेक वन्यजन्तुको महत्व उत्तिकै पाइन्छ । उचित बासस्थान र आहाराको कमी तथा मानवीय क्रियाकलापका कारण कैयौं वन्यजन्तु संकटमा परेका छन् । लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तु संरक्षणको चिन्ता भइरहेको समयमा नेपालमा संरक्षित वन्यजन्तुको संख्या बढ्दै जानुलाई सुखद् मान्नुपर्छ । तर, बढ्दो वन्यजन्तुको विचलनका कारण मानव जीवन कष्टकर बन्न थालेको छ । राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, राष्ट्रिय तथा सामुदायिक वनबाट नजिकका गाउँबस्तीमा जंगली जनावर आउने क्रम बढेको छ । ती वन्यजन्तुले मानिसले लगाएको बाली नष्ट गर्नेदेखि मानिस तथा अन्य जनावरलाई आक्रमण गर्ने र भौतिक संरचनामा क्षति पुर्याउने गरेको पाइन्छ । केही महिनाअघि बाघको त्रासले चिन्तित बनेका स्थानीय अहिले जंगली हात्तीको आतंकबाट पीडित बनेका छन् ।
जैविक विविधतामा निकै धनी नेपालमा धेरै प्रकारका बोटविरुवा र वन्यजन्तु पाइन्छ । उष्ण, समशितोष्ण र ठण्डा सबैखाले हावापानी भएको सानो देशमा धेरै प्रकारका वनस्पति र वन्यजन्तु पाइनु हाम्रा लागि गौरवको विषय हो । पछिल्ला वर्षहरुमा वन क्षेत्र बढ्दै जाँदा त्यहाँ आश्रित वन्यजन्तुको संख्या पनि बढिरहेको छ । तराई तथा चुरे क्षेत्रका घना जंगलमा पाइने बाघ, जंगली हात्ती, गैंडा, बँदेलजस्ता जंगली जनावरबाट मानिस असुरक्षित बन्दै गएका छन् । नेपालको तराई क्षेत्रमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी ५ वटा राष्ट्रिय निकुञ्ज छन् । यी सबै निकुञ्जमा पाटेबाघ संरक्षित छन् । चितवन र बर्दियामा एकसिंगे गैंडा संरक्षित छन् । तराईका घना जंगलमा थुप्रै जंगली हात्ती पाइन्छ । निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा यस्ता जनावरको विचलन बढ्दै जाँदा स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन् ।
मकवानपुर जिल्लामा केही दिनदेखि जंगली हात्तीको आतंक बढेको छ । पछिल्लो एक सातामा जंगली हात्तीको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मकवानपुरमा दुईजनाको ज्यान लिने हात्तीले नै शनिबार बिहान सिन्धुलीमा एकजनाको ज्यान लिएको छ । जंगली हात्तीको आक्रमणमा परी गत बिहीबार मकवानपुरको बकैया गाउँपालिका–५, पावसका सन्तलाल माझीको मृत्यु भएको छ । गत सोमबार मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । बुधबार राति हेटौंडा–१८, मानेडाँडामा जंगली हात्तीको आक्रमणमा परी एकजना पुरुष घाइते भएका छन् । जंगली हात्तीको आक्रमण बढ्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती पत्ता लगाउन जिल्ला वन कार्यालयले पनि गस्ती बढाएको छ । कार्यालयले पालिका, वडा र सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर मानिसलाई सचेत हुन आग्रह गरिरहेको छ । कार्यालयले हात्तीलाई नलखेट्न, नजिस्क्याउन, ढुङ्गाले नहान्न आग्रह गरेको छ । मानिससँग जम्काभेट हुँदामात्र हात्तीले आक्रमण गर्ने भएकाले हात्तीको वरपर नजान वन कार्यालयले सचेत गराएको छ ।
देशको महत्वपूर्ण प्राकृतिक सम्पदाको रुपमा वन्यजन्तुलाई मानिन्छ । दुर्लभ र महत्वपूर्ण वन्यजन्तुको उचित संरक्षण र व्यवस्थापनबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दछ । सकेसम्म प्राकृतिक बासस्थानमै वन्यजन्तुलाई संरक्षण गर्न राज्यले विशेष कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । पर्यावरण, जैविक विविधता, प्राकृतिक सम्पदा, पारिस्थितिक प्रणालीलाई जोगाउन वन्यजन्तु आवश्यक हुन्छ । हात्ती, बाघलगायत जनावर जंगल छाडेर विचलित हुँदै गाउँबस्ती चाहर्न आउनुको उचित कारण पहिचान गरी त्यसको समाधानमा सम्बद्ध निकायले ध्यान दिनुपर्छ । अन्य साना जनावरजस्तो हात्तीलाई नियन्त्रणमा लिन कठिन हुने भएकाले हात्तीलाई कुनै बाधा नपुर्याई उसकै गन्तव्यमा जान दिनुपर्छ । गाउँबस्तीमा आएका जनावरलाई पुनः जंगल फर्काउन आवश्यक जनशक्ति, संयन्त्र र प्रविधिको व्यवस्थापन गर्नु आवश्यक छ ।