हेटौंडाः जंगली हात्तीको आक्रमणमा परी मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५, पावसका सन्तलाल माझीको मृत्यु भएको छ । बिहीबार राती ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।
घाइते माझीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । हेटौंडा अस्पतालमा उपचारको क्रममा राती ११ बजे माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार माझीको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय प्रहरीका अनुसार हात्ती बकैया गाउँपालिकाको धियाँलतर्फ गएको छ ।
यसअघि गत सोमबार मकवानपुरको मनहरी गाउँपालिकामा पनि एक महिलाको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी उपचारको क्रममा चितवन जिल्लास्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै बुधबार राती हेटौंडा–१८, मानेडाँडामा जंगली हात्तीको आक्रमणमा परी एकजना पुरुष घाईते भएका छन् । घाइते हुनेमा हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।