हेटौंडा–१३, केनाम टोलमा सडक निर्माण कार्यको अवलोकन गर्नुहुँदै नगर प्रमुख मिना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा २ सय ५८ योजना सम्झौता भएकोमा ४८ वटा सम्पन्न भएका छन् । २१० वटा कार्यान्वयनको चरणमा रहेको उपमहानगरले जनाएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा जिम्मेवारी सरेका मध्य ८४ योजनाका काम सम्पन्न भएको छ ।

उपमहानगरको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ किलोमिटर कंक्रिट सडक, ४ वटा कल्भर्ट, १ वटा शैक्षिक पूर्वाधार, ३ वटा गुम्बा, १० वटा मन्दिर, १ तटबन्धन, ४ शौचालय, १२ सामुदायिक भवन, १ मदरसा र ४ वटा पार्कहरु निर्माणको काम सम्पन्न भएको बताइएको छ ।

उपमहानगरपालिकाको दुई स्थानको सडकमा बिहीबार स्ल्याव ढलान गर्ने कार्य सुरु भएको छ । चालु आर्थिक बर्ष २०७९/८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडिको बाराही, धाप र भट्टेटोल जाने र हेटौंडा–१२ को केनाम टोल जाने सडक बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको उपस्थितिमा निर्माण कार्य सुरु गरिएको हो । हेटौंडा–१ र १२ मा उपमहानगरपालिकाले चालु बजेट शिर्षकबाट बिनियोजन गरेको रकमबाट काम थालिएको हो । सडक निर्माण कार्यको निरीक्षण गर्नुहुँदै नगर प्रमुख लामाले पूर्वाधार निर्माणको कार्यमा गुणस्तरीयतामा ध्यान दिन उपभोक्ता समितिलाई सचेत गराउनुभएको छ ।

उहाँले निर्माण सम्पन्न भएपछि अनुगमनका क्रमममा गुनासो गर्न नगर्ने गरी काम गर्न सुझाव दिनुभयो । “हामी नगरको विकासका लागि काम गरिरहेका छौं, नगरवासीले पनि हामीले बनाएका योजनालाई आत्मसाथ गर्दै नगरको समग्र विकासमा सहयोगी बने मात्र कामले सार्थकता पाउने छ ।” उपमहानगरपालिकाले नगर क्षेत्रका अन्य वडाहरुमा पनि सडक निर्माणको काम चलिरहेको हेटौंडा उपमहानगरपालिका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण साहले बताउनुभयो ।

महाशाखाको पूर्वाधार विकास कार्यक्रम तर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरफरक सिफारिस समितिले १३२ योजनाको अनुगमन तथा मुल्याङकन गरेर फरफारकका लागि कार्यालयमा सिफारीस गरेको छ भने अन्य महाशाखाले गरेको ९ वटा योजना अनुगमन गरी भुक्तानीका लागि सिफारीस गरेको बताइएको छ । त्यस्तै पुर्वाधार विकास कार्यक्रम अन्तर्गत उपमहानगरले हेटौंडा १ चौकिटोलमा ३३ लाख ६६ हजार रुपैयाँको लागत सहभागिता तथा अन्य जिन्सी समान उपलव्ध गराएर हेटौंडा १० टिसीएनमा रहेको तरकारी बजार स्थानान्तरको काम भएको महाशाखा प्रमुख साहले जानकारी दिनुभएको छ ।