हेटौंडाः शिक्षण अभ्यासलाई प्रभावकारी र गुणस्तरीय बनाउने अभियानमा क्रियाशील कारखाना समूहले हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा ३ दिने कलामा–आधारित सामुदायिक पाठ्यक्रम कार्यक्रम सन्चालन गरेको छ । शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी उपलब्धीमूलक वनाउन यो कार्यक्रमको आयोजना गरिएको समुहले जनाएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष सुनिल मोक्तानले विषयगत शिक्षकहरुले शिक्षण सिकाईमा कलाको प्रयोग गर्नुपर्ने र यसको माध्यमबाट विद्यार्थीमा नयाँ उत्साहको सञ्चार भई सिकाई चिरस्थायी हुने बताउनु भयो । कार्यक्रममा कारखानाका संस्थापक साकार पुडासैनी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राजिव तिमल्सिना, १६ नम्बर वडा सदस्य संगीता विश्वकर्मा, ६ नम्बर वडा सदस्यद्वय सरिता सापकोटा, विजय पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कारखानाका प्रशिक्षक गुन्जन दिक्षितले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जनप्रिय मावि, बंशगोपाल मावि, चुरियामाई मावि र जनजागृति माविका शिक्षक तथा बाल क्लबका सदस्य विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने जनप्रिय माविका शिक्षक युक्तलाल विश्वकर्माले जानकारी दिनुभएको छ ।