हेटौंडाः झरना साहित्यिक परिवारको ३० औँ वार्षिकोत्सव तथा २८७ औँ साहित्य शृंखलाका अवसरमा मकवानपुरको बकैया गाउँपालिकामा दुइदिने बकैया कला–साहित्य महोत्सव सोमबार सुरु भएको छ । पहिलो दिन बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन कार्यक्रम भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष खत्रीले बकैयाको कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवअन्तर्गत पहिलो दिन चित्रकला प्रतियोगिता भएको छ । चित्रकला प्रतियोगितामा बकैया गाउँपालिकाका सात विद्यालयका ६२ जना विद्यार्थीले सहभागिता जनाएका थिए । पहिलो दिन सोमबार विद्यालयस्तरीय कविता प्रतियोगिता पनि सम्पन्न भएको छ । कविता प्रतियोगितामा पनि बकैया गाउँपालिकाका सात विद्यालयका १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । पहिलो दिनको विविध कार्यक्रममा बकैया–३ का वडाअध्यक्ष भुमलसिंह घलान, झरनाका संरक्षक उद्धवप्रसाद सापकोटा, भरतप्रसाद सापकोटा, जनक मावि व्यवस्थापन समितिका अध्यक्ष सुन्दर थिङ लामा, बुद्ध मावि हात्तीसुँडेका शिक्षक हरि प्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
महोत्सवअन्तर्गत मंगलबार स्रस्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवा पुस्ता तथा अग्रज साहित्यकारको कविता, मुक्तक र गजल प्रस्तुती, बहस, स्थानीय साँस्कृतिक तथा सांगीतिक प्रस्तुती, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम रहने झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभएको छ ।