हेटौंडाः हेटौंडा-४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्य बन्न अभिभावकको आकर्षण देखिएको छ । शनिबार भएको अभिभावक भेलामा व्यवस्थापन समिति सदस्य बन्न २१ जना अभिभावक आर्काक्षी देखिएका छन् ।

समिति सदस्य बन्न आकांक्षी देखिएका अभिभावकसँग बलियो एजेण्डा भने छैनन् । विद्यालय विकासको स्पष्ट योजनाबिना अभिभावकहरु व्यवस्थापन समिति सदस्यका लागि मात्र आकांक्षी देखिएको पाइएको छ । व्यवस्थापन समिति सदस्यकी आकांक्षी सुभद्रा बर्तौला भन्नुहुन्छ- “शैक्षिक गुणस्तर उकास्न तथा विद्यालयको व्यवस्थापन प्रभावकारी बनाउन सदस्य बन्न चाहेको हुँ ।” बर्तौलाकी छोरा आधुनिकमै कक्षा ८ मा अध्ययनरत् छन् । अर्की आंकाक्षी ईश्वरी विश्वकर्माले शिक्षाको गुणस्तर तल्लो स्तरदेखि नै बलियो बनाउन आफू समिति सदस्य बन्न लागेको बताउनुभयो । विद्यालयमा विद्यार्थीको आकर्षणलाई कायम राख्दै भौतिक विकासलाई अघि बढाउने र नतिजामुखी शिक्षाका लागि सदस्यमा आकांक्षा राखेको उहाँको दावी छ । ईश्वरीका छोरा आधुनिक माविमा कक्षा ९ मा अध्ययनरत् छन् ।

व्यवस्थापन समिति सदस्य बन्न इच्छुक शोभा वाइबाले भने नियमित गृहकार्य परीक्षण गराउने वातावरण निर्माणको योजना अघि सार्नुभएको छ । वाइबाको छोरा सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत् छन् । विद्यालय व्यवस्थापन समिति सदस्यमा आकांक्षी देखिनुभएका ज्ञानेन्द्र मानन्धर भन्नुहुन्छ- “विद्यालयको कमीकमजोरी, त्रुटीलाई सच्याउन सदस्य बन्न लागेको हुँ ।” मानन्धरका दुई छोरी विद्यालयको कक्षा ७ र ८ मा अध्ययनरत् छन् ।
अर्का आकांक्षी गौतमप्रसाद पौडेलले आफू सोही विद्यालयमा अध्ययन गरेकाले सदस्यको आकांक्षी बनेको बताउनुभयो । आफू विद्यालय रहेकै वडाको बासिन्दासमेत भएकाले विद्यालयको पठनपाठन सुधारका लागि सदस्य बन्न चाहेको उहाँको भनाइ छ । उहाँका छोरी पनि सोही विद्यालयमा अध्ययनरत् छिन् ।

निवृत्त शिक्षक शिवदयाल यादव पनि आधुनिक राष्ट्रिय माविको व्यवस्थापन समिति सदस्यमा आकांक्षी रहनुभएको छ । आफू निवृत्त शिक्षक भएका कारण शैक्षिक क्षेत्रमा आर्जन गरेको ज्ञानलाई प्रयोग गर्न सदस्यको आकांक्षी बनेको बताउनुभयो । ४१ वर्ष शिक्षण पेसामा बिताउनुभएका यादवले विद्यालयलाई आवश्यक परेको अवस्थामा अतिरिक्त कक्षा सञ्चालनका लागिसमेत समय दिनसक्ने भएकाले आफू सदस्यका लागि योग्य रहेको दावी गर्नुभयो । विद्यालयको कक्षा ७ र ८ मा दुई छोराहरु अध्ययनरत रहेको यादवको भनाइ छ ।

शनिबार भएको अभिभावक भेलाबाट ४ जना सदस्य छनोट गर्नुपर्नेमा पुरुषतर्फ १२ र महिलातर्फ ९ जना आकांक्षी देखिएपछि माघ २८ गतेसम्म सहमतिको प्रयास गर्ने गरी विद्यालय व्यवस्थापन समिति चयनको कार्य स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभयो । समिति सदस्य बनन महिलातर्फ सुभद्रा बर्तौला, कमला विश्वकर्मा, सरस्वती श्रेष्ठ, लक्ष्मी बर्तौला, अमीना खातुन, शोभा वाइबा, रेणुका फुयाँल, पार्वतीकुमारी तिमल्सिना र ईश्वरी विश्वकर्मा रसाईली आकांक्षी देखिनुभएको छ । पुरुषतर्फ ज्ञानेन्द्र मानन्धर, केशवप्रसाद बन्जारा, प्रतीक चौलागाईं, गौतमप्रसाद पौडेल, इन्ताज, प्रमोद दास, राजेशकुमार बनिया, समिर शेष, शिवदयाल यादव, महमद समिम, अहमद खान र राजकुमार केसीले व्यवस्थापन समिति सदस्यमा दावी पेश गर्नुभएको छ ।

विद्यालय सञ्चालनका लागि साधन र स्रोत जुटाउने र तिनको परिचालन गर्ने, विद्यालयको चल, अचल सम्पत्तिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ्क र विवरण अद्यावधिक गराई राख्ने काम विद्यालय व्यवस्थापन समितिले गर्नुपर्छ । विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी नगर कार्यपालिकाको कार्यालयको शिक्षा हेर्ने निकायलाई दिने, विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने, नगर कार्यपालिकाको कार्यालयको शिक्षा हेर्ने निकायबाट खटिएको शिक्षकलाई हाजिर गराई काममा लगाउने कार्य व्यवस्थापन समितिले गर्नुपर्ने हुन्छ ।

तोकेको लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने, लेखापरीक्षकको प्रतिवेदन अनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन नगरपालिकाको शिक्षा हेर्ने निकायमा पेश गर्ने पनि समितिको काम, कर्तव्य अधिकारमा पर्दछ । नगर शिक्षा समिति र नगर कार्यपालिकाको कार्यालयको शिक्षा हेर्ने निकायले दिएको आदेश तथा निर्देशनहरुको पालना गर्ने, आफैंले नियुक्त वा बढुवा गरेका शिक्षकका लागि तोकिएबमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था समितिले गर्नुपर्ने हुन्छ । यसैगरी शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघ गठन गर्ने, विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने, शिक्षकलाई तालिमको लागि छनौट गर्ने, तालिममा जाने शिक्षकलाई तालिमबाट फर्केपछि कम्तीमा तीन वर्ष विद्यालयमा सेवा गर्नुपर्ने सम्बन्धमा शर्तहरु निर्धारण गरी कबुलियतनामा गराउने, विद्यालयको स्रोतबाट बेहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्त गर्ने र त्यसरी नियुक्त शिक्षक तथा कर्मचारीलाई सरकारी तबरबाट समान तहका शिक्षक तथा कर्मचारीलाई तोकिदिएको तलब स्केलमा नघटाई तलब भत्ता खुवाउने काम गर्नुपर्दछ ।

स्वीकृत दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायी पूर्तिका लागि सो पद रिक्त भएका मितिले पन्ध्र दिनभित्र नगर कार्यपालिकाको शिक्षा हेर्ने निकायमा जानकारी गराई शिक्षा विकास तथा समन्वय इकाइमा लेखी पठाउने, विद्यालयका शिक्षक तथा कर्मचारीहरूको हाजिरी जाँच गरी गयल हुने शिक्षक वा कर्मचारीउपर आवश्यक कारवाही गर्ने तथा आवश्यकतानुसार आफ्नो रायसहितको प्रतिवेदन कारबाहीका लागि नगर कार्यपालिकाको शिक्षा हेर्ने निकायमा पठाउने जिम्मेवारी समितिको हुनेछ । विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आवश्यक सामग्रीको व्यवस्था गर्ने, सरकारी तवरबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा विद्यालयलाई सरिक गराउने, अभिभावक, शिक्षक र विद्यार्थीहरूले पालना गर्नुपर्ने आचार संहिता बनाई लागू गर्ने जिम्मेवारी पनि व्यवस्थापन समितिको हुन्छ ।

विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुको अभिलेख अध्यावधिक गराइराख्ने, प्रत्येक वर्ष विद्यालयका चन्दादाता र अभिभावकहरूको भेला गराइ विद्यालयको अघिल्लो शैक्षिक वर्षको आय, व्यय तथा शैक्षिक उपलब्धी र आगामी वर्षको शैक्षिक कार्यक्रमको सम्बन्धमा जानकारी गराउने कार्य गर्नुपर्छ । शिक्षकलाई गरिएको विभागीय कारवाहीको जानकारी नगरपालिकाको शिक्षा हेर्ने निकायका शिक्षा प्रमुखसमक्ष पठाउने, विद्यालयको लेखा परीक्षणका लागि प्रचलित कानूनबमोजिम दर्ता भएका लेखा परीक्षकहरूमध्येबाट कम्तीमा तीन जना लेखा परीक्षकको नाम नियुक्तिका लागि नगर कार्यपालिकाको कार्यालयको शिक्षा हेर्ने निकाय समक्ष सिफारिस गर्ने, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विद्यालयको विकास तथा पठनपाठन सम्बन्धमा उत्प्रेरित गर्न आवश्यक व्यवस्था मिलाउने कार्य समितिले गर्नुपर्छ ।

विद्यार्थीलाई उपलब्ध गराइएको छात्रवृत्तिबापतको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने, शिक्षा हेर्ने शाखा अधिकृतले विद्यालयको छड्के जाँच वा निरीक्षण गर्दा हाजिरी पुस्तिकामा गयल जनाएकोमा त्यस्तो गयलवापत तलब कट्टी गर्ने, व्यवस्थापन समितिको सचिवालय विद्यालय भवनमा राख्ने तथा विद्यालयको कागजपत्र र अभिलेख सुरक्षित गर्ने, शिक्षकहरुको सेवाको सुरक्षा र सम्बर्द्धन गर्ने, नगर कार्यपालिकाको कार्यालयले दिएको निर्देशनअनुरूप काम गर्नेुपर्ने हुन्छ ।