आज माघ १६ गते, शहीद दिवस । नेपालमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसको एकसाता अघिदेखि देशभर विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह पनि मनाइन्छ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहका साथै माघ १६ गते शहीद दिवस मनाउने प्रचलन छ । शहीद दिवस भनेको देशका लागि आफ्नो जीवन बलिदान दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धापूर्ण भाव प्रकट गरी उनीहरुले गरेको योगदानलाई सम्झँदै उनीहरुको सपना पूरा गर्न प्रतिबद्ध हुनुपर्ने विशेष दिन हो । मुलुकको स्वतन्त्रता, प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र स्थापना तथा नागरिक हक अधिकारको लागि प्राणको आहुति दिने वीर, वीराङ्गनालाई शहीद भनिन्छ । तिनै शहीदप्रति सभक्ति श्रद्धाभाव प्रकट गर्ने दिन भएपनि शहीद दिवस वा शहीद सप्ताह सामान्य औपचारिक कार्यक्रममा सिमित हुने गरेको छ ।

नेपालमा राज्यसत्ता वा शासन व्यवस्थाको विरुद्ध भएका विभिन्न आन्दोलन तथा अभियानहरुमा सयौं व्यक्ति शहीद भएका छन् । जहानियाँ राणा शासनविरुद्ध लडेर ज्यान अर्पण गर्ने शहीदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा वर्षेनि शहीद दिवस मनाउने गरिएको छ । वि.सं १९९७ साल माघको यसै हप्ता तत्कालीन राणा शासकले दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली ठोकेर मृत्युदण्ड दिए भने धर्मभक्तलाई सिफल र शुक्रराज शास्त्रीलाई टेकुमा रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्यायलगायत नेपाल प्रजापरिषदका नेताहरुलाई आजीवन कारावासको सजाय तोकेर जेलको कालकोठरीमा हालियो । तर, समयले ल्याएको क्रान्ति चेत बढ्दै गयो । दश वर्षकै अन्तरालमा जनक्रान्तिकै बलद्वारा एकतन्त्रीय जहानियाँ राणा शासन समाप्त भयो । यिनै शहीदहरुको बलिदानस्वरुप २००७ सालमा राणा शासन अन्त्य भएर बहुदलीय प्रजातान्त्रिक व्यवस्था सुरुवात भयो । नेपालमा स्वतन्त्रता र प्रजातन्त्रका लागि २००७ सालपछि पनि पटकपटक आन्दोलनहरु भएका छन् र सयौं नेपालीले शहादत प्राप्त गरेका छन् ।

शहीद दिवसमा ती ज्ञातअज्ञात शहीदहरुको स्मरण गर्दै उनीहरुका संकल्प पूरा गर्ने प्रतिबद्धता गरिन्छ । हरेक वर्षको शहीद दिवसमा सरकार प्रमुख, मन्त्री, राजनीतिक दलका नेताहरुले शहीदहरुको बलिदान, समर्पण र योगदानको चर्चा गर्दै उनीहरुका अधुरा सपना पूरा गर्ने बाचा गर्छन् । शीर्ष नेतृत्वहरुले देशबासीका नाममा सन्देश जारी गर्ने, शहीदहरुको योगदानको बढाइचढाईं गर्ने र शहीदको प्रतिमामा पुष्पगुच्छा अर्पण गर्ने प्रचलनले निरन्तरता पाउँदै आएको छ । शहीद दिवसमा शहीदको बखान गाएर, उनीहरुको सम्झनामा आँशु झार्ने नेताहरुले भोलिपल्टै शहीदहरुलाई बिर्सन्छन् । शहीदको सपना पूरा गर्ने नाममा आफ्नो व्यक्तिगत र दलगत स्वार्थपूर्तिका क्रियाकलापलाई निरन्तरता दिन्छन् । निरंकुशताको बिरोध गर्नेहरु सत्तामा पुगेपछि आफैं निरंकुश बन्छन् ।

राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै युगसापेक्ष नागरिक हक अधिकारको पूर्ण प्रत्याभूतिका शहीदले आफ्नो प्राण बलिदान दिएका हुन् । विधिको शासन व्यवस्थित गरेर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने ती तमाम् शहीदका सपना अहिले पनि अधुरै छन् । हाम्रा वीर शहीदहरुले मुलुकमा शान्ति, समृद्धि र सुशासनको सपना देखेका थिए । ती शहीदका सपना पूरा गर्ने अभिभारा अहिलेका शासकहरुमा छ । यसका लागि स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले विकास र समृद्धिलाई अघि बढाउनु आवश्यक छ । संघीयताको मर्म र भावनाअनुकूलको शासन व्यवस्था व्यवहारमा लागू गरी आम नागरिकलाई घरदैलोमा सेवा दिनसकेमा शहीदका अपूरा सपना पूरा हुन सक्छ ।