हेटौंडाः आगामी शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयले शुल्क प्रस्ताव बुझाएका छैनन् । हेटौंडा उपमहानगरपालिकाले शैक्षिक शुल्क प्रस्ताव आह्वान नगरेकाले संस्थागत विद्यालयहरुले शुल्क प्रस्ताव नबुझाएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपमहानगरको शिक्षा समितिले शुल्क प्रस्ताव छनौट समिति बनाएर अनुमोदन गरी कार्यान्वयनमा ल्याउने व्यवस्था छ । तर कोभिड महामारीका कारण विगत २ वर्षदेखि शुल्क प्रस्ताव संस्थागत विद्यालयहरुले बुझाएका छैनन् । शिक्षा क्षेत्र अस्तव्यस्त भएको अवस्थामा विद्यार्थी र अभिभावकहरुलाई मारमा पर्ने भएकाले शुल्क प्रस्ताव आह्वान नगरिएको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो ।

जसकारण २०७६ सालमा तोकिएको शुल्कअनुसार नै विद्यालयहरुले लिन पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । माघ मसान्तभित्र शुल्क प्रस्ताव बुझाउन पाउने व्यवस्था रहेपनि हालसम्म उपमहानगरले शुल्क प्रस्ताव बुझाउन सूचना जारी नगरिएकाले कुनैपनि विद्यालयले शुल्क प्रस्ताव बुझाएका छैनन् ।