विक्रम खतिवडा

भिख मागेर ल्याएको चामल जस्तै भो जिन्दगी पनि । खिर पकाउँ भने दुध छैन, भात पकाउँ भने सब्जी छैन । बेच्न जाउँ त भने किलो पुग्दैन । भैगो फालौं न त भने चार गाउँ डुलेर दुखसँग मागेको । हो यस्तै हालत छ हाम्रो समाजमा भर्खरै स्थापित हुँदै गरेको युवा व्यवसायीको पनि । त्यसैको उदाहरण हुन् युवा व्यवसायी प्रेमप्रसाद आचार्य ।

धेरै संघर्षपछि जसोतसो सुरु गरेको व्यवसायमा पनि समाजमा स्थापित ठुला भनाउँदा उद्योगी व्यापारीहरुबाट हुने थिचो–मिचो, बैंक तथा बित्तीय संस्थाहरुले नयाँ व्यवसायीमाथि गर्ने रबैया एवम् साना व्यवसायी माथि राज्यले गर्ने व्यवहारले गर्दा पनि यो समाजमा अरु थुप्रै प्रेम आचार्य झैं आफैँलाई आगो लगाएर अन्त्य गर्ने अवस्था देखिन्छ । हाम्रो समाजमा भन्ने गरिन्छ रुँदै गरेको पुरुष सृष्टिको सबै भन्दा दुर्लभ दृश्य हो । तर बिडम्बना भन्नु पर्छ आज नेपाली समाजमा यस्तो दुर्लभ कारुणिक दृश्य सहजै देख्न र सुन्न पाईन्छ ।

यो अवस्थामा कस्ले आएर उसलाई ढाडस दिँदै भनिदेला, हेर बाबु तिमी पनि रुन मिल्छ रोउ रुँदा तिम्रो मन हलुका हुन्छ भने । तिम्रो साथमा हामी छौं, न राज्यले भन्न सक्छ, न त घर परिवार र समाजले नै साथ दिन सक्छ । यदि त्यति मात्रै भन्ने हो भने पनि उसको पीडा पक्कै आधा हुने थियो । भनिन्छ नि जिन्दगीमा पीडा लुकाउने छाति र हाँसो र आँसु बाँड्न मिल्ने साथी मात्र भए पनि जिन्दगी जिन्दगी जस्तै लाग्छ भनेर ।

तीन तहको सरकार बनायौं । व्यवस्था बदल्यौं । खै त अव्यवस्था बदलिएको ? सामन्ती समाजको बिरुद्ध हिजो लडेका हामी आज झनै खराब सामन्त समाजको निर्माण त गर्दै छैनौं ? गम्भीर भएर सोच्ने बेला आएको छ । होइन भने स्वदेशमै केहि गर्छु भनेर विदेशी भूमिमा रगत पसिना बगाई जोगाएर जोडेको जमिन धितोमा राखेर बैकसँग ऋण माग्दा समेत लगानीयोग्य रकम छैन भन्ने बैंक तथा बित्तीय संस्था तर तिनकै नियामक निकाय नेपाल राष्ट्र बैंककै तथ्यांक अनुसार तिनै बैंक तथा बित्तीय संस्थाले गरेको कुल लगानीको झण्डै ७० प्रतिशत हिस्सा चाहि २०–५० जना सीमित व्यापारी तथा व्यावसायिक समुह माथि मात्रै लगानी गरिराख्ने हो भने हाम्रो देशको अर्थतन्त्र तिनै सीमित व्यक्तिकै मुठठी भित्रै रहने छ । आम नेपाली जनता सधैं तिनैको उपभोक्ता भैराख्नुको विकल्प छैन । नहुनु पनि किन बैंक तथा बित्तीय संस्था पनि तिनै सीमित व्यक्तिको हातमा छ ।

व्यवसायी, उद्योगी एकै छन् । राज्यबाट पाउने विभिन्न आर्थिक छुट एवम् सुबिधा उपयोग गर्नेमा पनि तिनै सीमित व्यक्ति तथा समुह नै अग्रस्थानमा हुने गर्छन् । बैंक आफै संचालन गर्ने व्यवसाय पनि गर्ने, सँगै बीमा क्षेत्र पनि तिनैको भैराख्ने हो भने आम नेपाली जनता तिनैको उपभोक्ता सिवाय केहि हुन्न । हिन्दीमा एउटा उखान् छ, “न बाप न भैया, सबसे बढा रुपैया ।” यिनका लागि पनि त्यस्तै हो फगत नाफा भन्दा सिवाय केहि देख्दैन तिनका आँखाले । त्यसैले हाम्रो अर्थतन्त्रका उडुस यिनको समयमा नै पहिचान नगर्ने हो भने धेरै प्रेमहरु कसैले आफैलाई चोक–चोकमा आगो लगाउलान्, कसैले बन्दकोठा भित्रै आफैलाई खतम गर्लान् ।

जिवनको माया गर्ने कोहि विदेश पलायन होलान् । अनि त हाम्रो समाज झन् कस्तो बन्ला ? कल्पना समेत गर्न सकिन्न । घर, परिवार, समाज, राष्ट्रलाई माया गर्ने सयौं सचेत युवा गहभरी आँशु बोकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओठ टोक्दै भित्र छिर्दै गरेको कारुणिक दृष्य कहिलेसम्म हेर्नु भोग्नु पर्ने हो । यि र यस्ता घटनाको जिम्मेवार को बन्ला ? कहिले होला यस्ता दिनको अन्त्य ?

यदि समयमा नै यी कुरालाई मनन् गरी देशभित्र हुने बस्तु तथा सेवाको प्राथामिकता पहिचान गरी गाउँगाउँमा साना तथा लघुउद्यम सुरु गरी लगानीको विविधीकरण गर्न सक्किएन भने आगामी दिन निकै कहालिलाग्दो देखिन्छ । हुन पनि सामान्य दाँत कोट्याउने सिन्कादेखि भान्सामा भाँडा माझ्न प्रयोग हुने जाली समेत वार्षिक करोडौंको आयात गर्ने हामी के ति सामान्य बस्तु स्थानीय स्रोत र साधन प्रयोग गरी उत्पादन गर्नै नसकिने हो त राज्यले प्राथामिकता पहिचान गरी साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्ने हो भने लगानी समेत विविधीकरण भई स्थानीयस्तरमा रोजगारी समेत सृजना हुनुका साथै आयात प्रतिस्थापनमा समेत राम्रै भूमिका खेल्ने देखिन्छ । जस्का लागि स्थानीय, प्रदेश र संघीय सरकारको अहम् भूमिका रहन्छ । होइन भने तपाई हाम्रो समाजमा धेरै प्रेम आर्चयजस्तै स्वदेशमै केहि गरौं भन्ने युवाको सपना माथि तुसारापात हुनेछ र एउटा युगको अन्त्य हुनेछ ।