मीना कुमारी लामा नगर प्रमुख, हेटौंडा उपमहानगरपालिका

स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि स्थापित भएको ६ महिना भइसकेको छ । नियमित निर्वाचनको प्रक्रियाबाट नयाँ जनप्रतिनिधि निर्वाचित हुँदै गर्दा आमरुपमा नागरिकका अपेक्षाहरुका विषयमा जनप्रतिनिधिहरुले कतिको प्राथमिकता दिएका छन् भनेर नागरिक तहमा मूल्यांकन हुन सुरु भइसकेको छ । हेटौंडा उपमहानगरले महिला नेतृत्व पाएसँगै एक किसिमको उत्साह र आशंका दुवै उब्जिएको थियो । पहिलो ६ महिनाको अवस्थालाई हेर्ने हो भने उल्लेखनीय काम हुन नसके पनि केही सकारात्मक संकेत देखिएका छन् । खासगरी महिला जनप्रतिनिधिको सन्दर्भलाई लिएर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामासँग गर्नुभएको कुराकानीः

हिजो नगरको उपप्रमुख हुुनु हुँदा र अब नगरको प्रमुख हुनु हुँदा कति सहज महसुस गर्नु भएको छ ? कति चुनौती महसुस गर्नु भएको छ ?

लामाः उपप्रमुख हुनु भन्दा प्रमुख हुनु अझ गहकिलो कुरा हो । आफैँमा गम्भीर हुन पनि जरुरी छ । किनभने उपप्रमुख हुँदा म भन्दा माथिल्लो तहमा नेतृत्व गरिरहनु भएको व्यक्ति हुनुहुन्छ भन्ने कुराहरु महसुस हुँदो रहेछ । हामीले सल्लाह, सुझाव दिने हो राम्रो कुरा गर्नु पर्छ भनेर नेतृत्व गर्ने ब्यक्तिलाई घच्घचाउने पाटो हुदो रहेछ । तर प्रमुख भैसकेपछि सबै जिम्मेवारी आफ्नै हुने राम्रो काममा जस पाउने र नराम्रो कुरामा अपजस पनि पाईने रहेछ । अलिकता बिग्रिन्छ कि भनेर सचेत पनि हुनु पर्ने, चुनौतीको सामना गर्नु पर्ने र आफु सधै तयार अबस्थामा रहन् पर्ने भएकोले गम्भिरता, चुनौती र अबसर पनि हुने रहेछ ।

तपाई समुदायसँग असाध्यै नजिक रहनु हुन्छ । यसले कार्यालयमा बसेर काम गर्नुपर्ने, नीति बनाउनु पर्ने काममा प्रभावित हुने महसुस गर्नु भएको छ ?

लामाः राजनीतिक नेतृत्वले नीति, नियम तथा कार्यक्रम बनाउने हो, बजेट विनियोजन गरिदिने हो । राजनीतिक नेतृत्वले बनाएका नीति, नियमहरुको भरपुर कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी प्रशासनको हुन्छ । प्रभावकारी कार्यान्वयन भए, नभएको अनुगमन गर्ने जिम्मा नगर उपप्रमुखको हुन्छ भने त्यसलाई नगरप्रमुखले अभिभावकत्व मात्र लिने हो । हामीले हेटौंडा उपमहानगरपालिकाको आफ्नो नीति र कानुन पनि बनाएका छौं । त्यसलाई कार्यान्वयनका लागि हामीसँग प्रशस्त कर्मचारीहरु पनि छन् । हामीले विनियोजन गरेका बजेट र बनाएका नीति, नियमहरु कत्तिको प्रभावकारी लागु भयो, कर्मचारीहरु कत्तिको अनुशासित भएर काम गर्दैछन्, हामीले बनाएका कार्यक्रमहरुबाट कत्ति जनता लाभान्वित भए र सकेसम्म जनसमाजबाट आउने गुनासो कम गर्नका लागि म प्रायः जनसमुदायसँगै हुन्छु । त्यसकारण तपाईहरुले मलाई धेरैजसो समुदाय मै देख्नुहुन्छ । जनप्रतिनिधिहरु बिहान १० बजे कार्यालयमा उपस्थित भएर साँझ ५ बजेसम्म अफिस मै बस्नुपर्छ भन्ने चाँहि हुँदैन । यो कुरा अन्य जनप्रतिनिधिहरु लगायत समग्र हेटौंडाबासीले बुझ्नुपर्छ जस्तो लाग्छ ।

करिब ६ महिना नगरप्रमुख भएर काम गरिसक्दा तपाईलाई मत दिएर जिताएका नगरबासीहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

लामाः निर्वाचनमा होम्मिँदा मैले घोषणापत्र मार्फत केही प्रतिबद्धताहरु जनाएकी थिएँ । जसमा मैले दश हजार लिटर खानेपानी निशुल्क वितरण गर्छु भनेकी थिएँ । त्यसैअनुसार त्यो प्रतिवद्धता कार्यान्वयनमा आएको छ । बिजुलीको बिलमा छुट दिने प्रतिबद्धता व्यक्त गरेकी थिएँ । त्यसैअनुसार अहिले म त्यससम्बन्धी अध्ययन तथा अनुसन्धान गरिरहेकी छु । यस्तै मैले घोषणापत्र मार्फत गरेका प्रतिबद्धता पुरा गर्नका लागि लागी परिरहेकी छु । हेटौंडालाई समृद्ध बनाउने लगायत मैले गरेको प्रतिबद्धताहरु अनुसार नै काम गर्दै अघि बढ्दै छु । त्यसकारण अहिलेसम्म मप्रति हेटौंडा उपमहानगरबासीको सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

तपाईलाई लिएर अन्य पालिका तथा नगरका प्रमुख तथा प्रतिनिधिहरुले दिने प्रतिक्रिया कस्तो छ ?

लामाः मैले घोषणापत्रमार्फत गरेको प्रतिबद्धता अनुसार काम गर्न थालेको छोटो समयमै निशुल्क १० हजार लिटर पानी खुवाउन सकेको कुरालाई लिएर सबै नगरका प्रमुखहरुको चासोको विषय बनेको छ । कतिपय नगर प्रमुखहरु यो विषयमा सोधीखोजी गर्न पनि मकहाँ आउनुभएको छ । उहाँहरुले महिला भएर जिम्मेवारी सम्हालेको छोटो समयमै आफ्नो प्रतिबद्धता पूरा गर्न सकेकोमा तारिफ पनि गर्नुहुन्छ । यो कुराले मलाई एकदम गर्व महसुस गराउँछ ।

पहिला पुरुष नगर प्रमुख हुँदा र अहिले महिला नगरप्रमुख हुँदा निर्वाचित महिला जनप्रतिनिधिहरु र नगर प्रमुखबीचको सहकार्य, समन्वय र अन्तरक्रियामा कस्तो फरक पाउनुभएको छ ?

लामाः नगरको प्रमुख भनेको महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक लगायत सम्पूर्णको अभिभावक हो भन्ने कुरा मैले बुझेकी छु । त्यसअनुसार नै सबैलाई सशक्तीकरण तथा विकासको पाटोमा समान रुपमा सँगसँगै लैजानुपर्छ । अहिले म नगरप्रमुख भइसकेपछि धेरै समयदेखि पछाडि परेका आधा हिस्सा ओगटेको महिलाहरुलाई अगाडि बढाउने जिम्मेवारी पनि थप भएको छ । र मैले यो विषयलाई प्रमुख प्राथमिकतामा राखेकी छु ।
पहिला पुरुष नगरप्रमुख हुँदा महिला जनप्रतिनिधिहरु सहकार्य, समन्वय र अन्तरक्रिया गर्न उहाँसँग भन्दा बढी म उपप्रमुख भएको ठाउँमा आउनुहुन्थ्यो । अहिले त सिधै मकहाँ आउन पाउँदा उहाँहरुलाई सजिलो भएकोे छ । त्यसकारण महिला जनप्रतिनिधिहरुलाई पहिलाभन्दा अहिले धेरै सजिलो भएको छ जस्तो लागेको छ ।