हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा खुला कविता प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा आगामी माघ १६ गते शहीद दिवसको अवसरमा कविता प्रतियोगिता हुने प्रतिष्ठानले जनाएको छ ।
शहीद विषयक खुला कविता प्रतियोगितामा सहभागी हुनका लागि आगामी माघ १५ गतेसम्म कविता उपलब्ध गराउन आग्रह गरिएको छ । कविता बढीमा २ सय ५० शब्दमा हुनुपर्नेछ । कविता शहीदको विषयमा हुनुपर्ने र शीर्षक खुला हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७ हजार ५ सय रुपैयाँ, ५ हजार ५ सय रुपैयाँ र ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, सान्त्वना हुने २ जनालाई १÷१ हजार रुपैयाँ पुरस्कार रहेको प्रतिष्ठानले जनाएको छ ।