हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा–८ स्थित चन्द्रोदय माविको समन्वयमा सोमबार र मंगलबार दुई दिन सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताअन्तर्गत् कराँते र उसुका खेलाडीहरु आइतबार नै छानिएका छन् । कराँतेमा ८ जना खेलाडी छानिएको प्रतियोगिताका संयोजक विष्णु लामाले जानकारी दिनुभयो । पुरुष ४२ केजीतर्फ बाल उज्ज्वल माविका बिराज तितुङ, ४७ केजीतर्फ त्रिभुवन माविका मनोज पाख्रिन र ५२ केजीतर्फ नवोदय शिशु सदनका यस नेपाल र एकल पुरुष कातातर्फ सिद्धार्थ माविका बुद्ध सागर ब्लोन छनौट भएका छन् । यस्तै महिला कराँतेतर्फ ४० केजी तौलमा त्रिभुवन माविकी शोयश्मा प्रधान, ४५ केजीतर्फ बाल उज्ज्वल माविकी सुरक्षा मैनाली, ५२ केजीमा नवोदय शिशु सदनकी श्रेया श्रेष्ठ र एकल महिला कातातर्फ बाल उज्ज्वल माविकी रिया विश्वकर्मा छनौट भएकी हुन् ।

यस्तै, पुरुषतर्फ उसुमा आधुनिक राष्ट्रिय माविका ३ जना र महिलातर्फ प्रगति माविकी ३ जना खेलाडी छनौट भएको उसु प्रशिक्षक विमल थापाले जानकारी दिनुभयो । आधुनिक माविका पारखी ठकुरी, कृष्ण बराल र सोभित थापा छनौट भएका हुन् । महिलातर्फ प्रगति माविकी शान्ति थिङ, जेनिशा गुरुङ र सोममाया मोक्तान छनौट भएकी हुन् ।

प्रतियोगिताअन्तर्गत् सोमबार एथलेटिक्स, कबड्डी र भलिबलका खेलहरु सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा सहभागी जनाउन सोमबार बिहान ८ बजेसम्म उपमहानगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरुले टिम दर्ता गराउन सकिने जनाइएको छ ।