हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुले अझै सुर्तीजन्य तथा मादकपदार्थ बिक्रीवितरण विरुद्व पोस्टर टाँसेका छैनन् । एक महिनाअघि हेटौंडा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पोस्टर टाँस्न आग्रह गरेको भए पनि हालसम्म विद्यालयहरुले विद्यालय वरपर सुर्तीजन्य तथा मादक पदार्थ बिक्रीवितरण विरुद्व कुनैपनि पोस्टर टाँसिएको पाइएको छैन ।
हेटौंडा उपमहानगरपालिकाले २०८० साल मंसिर महिनाभित्र बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित कार्य थालनी गरेपछि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालयको भूमिका निर्वाह गर्न आग्रह गरेको थियो । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालयहरुले सम्पन्न गर्नुपर्ने विभिन्न कार्यहरुको बारेमा लिखित निर्देशन दिएको भए पनि विद्यालयहरुले ती निर्देशनको पालनामा तदारुकता देखाएको पाइएको छैन ।
हेटौंडा-६, गौरीटारमा रहेको बालजागृति युवावर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सम्झना अधिकारीले हालसम्म विद्यालयले सुर्तीजन्य तथा मादक पदार्थ बिक्रीवितरण विरुद्वका कुनै पनि पर्चा, पम्प्लेट र पोस्टर नटाँसेको स्वीकार गर्नुभएको छ । विद्यालयले पोस्टर बनाउन दिएको र केही दिनमै उक्त पोस्टर विद्यालय वरपर टाँसिने उहाँले बताउनुभयो । बालमैत्री अभियान घोषणाका लागि विद्यालयले पूरा गर्नुपर्ने २५ वटा भूमिका रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा-४ स्थित भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहालका अनुसार उपमहानगरले अझै विद्यालयलाई पोस्टर उपलब्ध नगराउँदा विद्यालयले पोस्टर नटाँसेको बताउनुभएको छ । उपमहानगरले उक्त पोस्टर उपलब्ध गराउन ढिलाई गरेमा विद्यालयले नै केही दिनमा पोस्टर टाँस्ने उहाँले जानकारी दिनुभयो ।
हेटौंडा-१, चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले पोस्टरका लागि वडासँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पर्चा, पम्प्लेट र पोस्टरसहितको सचेतना र्याली विद्यालयले गर्ने बताउनुभयो । अर्धवार्षिक परीक्षाका कारण उक्त सचेतना र्याली गर्न ढिलाई भएकाले र्यालीसँगै केही दिनमा विद्यालय वरपर पोस्टरहरुसमेत टाँस्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
विद्यालयको एक सय मिटर वरपर खुलेआम सुर्तीजन्य तथा मादक पदार्थ बिक्रीवितरण भइरहेको भन्दै उपमहानगरले अनुगमनसमेत गर्ने जनाएको थियो । पछिल्लो समय उपमहानगरले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको भए पनि हालसम्म कार्यान्वयन भने हुन सकेको छैन ।
विद्यार्थीलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढा राख्नका लागि विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न आग्रह गरिएको छ । सोहीअनुरुप उपमहानगरले १८ वर्षभन्दा मुनिका कुनैपनि बालबालिकालाई अभिभावकहरुले समेत सुर्तीजन्य तथा मादक पदार्थ खरिद गर्न प्रयोग नगर्न आग्रह गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाका प्रमुख बिष्णुकुमारी लामिछानेका अनुसार वडावडामा बालमैत्री अभियानको तयारी भइरहेको जानकारी दिनुभयो । विद्यालयहरुमा सुर्तीजन्य तथा मादक पदार्थ बिक्रीवितरणको विरुद्व पोस्टर नटाँस्नुका कारण भने जानकारी नभएको उहाँको धारणा छ