हुप्रचौरको सरसफाई गरिँदै ।

हेटौंडाः नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटी मकवानपुरले हेटौंडा–४ स्थित हुप्रचौर सरसफाई गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै महासंघले हुप्रचौर सरसफाई गरेको हो ।

हुप्रचौरको सरसफाई कार्यमा सहयोग गर्दै नेपाल प्रहरी ।

हुप्रचौर नियमित रुपमा खेल खेल्ने र व्यायाम गर्ने साझा ठाउँ भएपनि फोहोर भएकाले सरसफाई गरिएको नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य निरज सिंह ठकुरीले जानकारी दिनुभयो । ठकुरीले भन्नुभयो, ‘खेल खेलेर मात्रै स्वस्थ हुँदैन, खेल खेल्ने वातावरण पनि स्वच्छ र सफा हुनुपर्छ ।’ चौर सरसफाईको क्रममा लागूऔषधका सिरिन्जहरु धेरै मात्रामा भेटिएको ठकुरीले बताउनुभयो । लागूपदार्थ सेवन गर्ने सुरक्षित ठाउँको रुपमा हुप्रचौर क्षेत्रलाई प्रयोग गरिरहेको हुन सक्ने उहाँले आशंका गर्नुभयो । यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

फोहर संकलन गर्दै हेटौंडा फुटबल एकेडेमीका किशोर खेलाडी ।

चौर सरसफाईमा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सचिवालय सदस्य माधव तिमल्सिना, जिल्ला अध्यक्ष उमेश बुढाथोकी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की लगायत हेटौंडा फुटबल एकेडेमी, मकवानपुर क्रिक्रेट क्लब, वडा प्रहरी कार्यालयका प्रहरी र खेलाडीहरुको सहभागिता रहेको थियो ।

हुप्रचौरको सरसफाई गर्दै युवा ।