हेटौंडाः मकवानपुर जिल्लामा पहिलो पटक आयोजना गरिएको दुईदिवसीय टेस्ट क्रिकेटमा गौरव खड्काको टिम विजयी भएको छ । आइतबार र सोमबार दुई दिवसीय टेस्ट क्रिकेटमा सुमन सुनारको टिमलाई ६० रनले पराजित गरेको हो ।
आइतबार पहिलो इनिङ्स ९ विकेटको क्षतिमा ३०० रन जोडेर पारी समाप्तीको घोषणा गरेको गौरवको टिमविरुद्ध जवाफी व्याटिङ गरेको सुमन सुनारको टिमले पहिलो दिनको खेल समाप्त हुने समयसम्ममा ९ विकेटको क्षतिमा २ सय ३२ रन जोडेको थियो । दोस्रो दिनको खेल सुरुवात गरेर पहिलो ओभरमै कुनै रन नजोडी अलआउट भएको सुमन सुनारको टिम २ सय ३२ रनमा सीमित भयो । पहिलो इनिङ्समा ६८ रनको अग्रता बनाएको गौरव खड्काको टिमले पहिलो इनिङ्सको तुलना दोस्रो इनिङ्समा राम्रो प्रदर्शन गर्न सकेन ।
दोस्रो इनिङ्समा १ सय ६४ रन जोड्दै समग्रमा २ सय ३२ रनको अग्रता बनाएको गौरव खड्काको टिमले सुमन सुनारको टिमलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङ्समा सुमनको टिमले पनि राम्रो प्रदर्शन गर्न सकेन । मध्यम लक्ष्य पछ्याएको सुमनको टिमले दिनको साढे २ बजे नै १ सय ७२ रन मात्रै जोड्दै अलआउट भयो ।
दोस्रो इनिङ्समा गौरव खड्काले ५८, शुभ कंशाकारले ३३, सक्षम बास्ताकोटीले २० रन जोड्न सफल भए । टिम गौरवलाई सस्तैमा समट्ने क्रममा दोस्रो इनिङ्समा टिम सुमनका बलर तक्षक सिम्खडाले ५ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको सुमनको टिमबाट गोकुल अधिकारीले ३६ रन, सुवर्ण भट्टले २९ रन, तक्षक सिम्खडाले १५ रन मात्रै जोड्न सफल भए । टिम सुमनको विरुद्धमा टिम गौरवका आशिष पोखरेलले ३ विकेट लिँदा प्राञ्जलले २ विकेट लिए ।
पहिलो पटक दुई दिवसीय टेस्ट क्रिकेट प्रतियोगितामा टिम गौरवका शुभ कंशाकारले पहिलो इनिङ्स १ सय २३ रन, दोस्रो इनिङ्स ३३ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । दुईदिवसीय टेस्ट खेलको आयोजनाले खेलाडीमा उत्साह थपिएको र राम्रो अभ्यास भएको राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका राम नरेश गिरीले जानकारी दिनुभएको छ ।










