बरामद लागुऔषधसहित नरेन्द्र श्रेष्ठलाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध वनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१० बसपार्कका ३८ वर्षीय नरेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

शनिबार साँझ ५ बजेर १५ मिनेटको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित बसपार्कको भित्री सडक खण्डमा सोही ठाउँ बस्ने श्रेष्ठले आफ्नो घरमा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध वनरेक्स ३ सय ५४ बोतल प्रहरीले बरामद गरेको हो ।

उक्त लागूऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो । पछिल्लो समय लागुऔषध वनरेक्सको प्रयोग व्यापक बढेको छ । सडकछेउ, होटलका डस्टविनमा वनरेक्सको खाली बोतल प्रसस्त मात्रामा भेटिने गरेको छ ।