राप्रपा बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनु भएको उद्धव थापा ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको प्रदेशस्तरीय बैठकले प्रदेशको संसदीय दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको हो ।

थापा गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । समृद्ध समाज राष्ट्रिय दैनिकसँग कुराकानी गर्नुहुँदै थापाले अहिले आफुहरु सरकारमा सहभागी हुने कुनै तयारी नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संघमा सरकार गठन गर्न राप्रपा बाहेक अन्य दलहरुकै बहुमत पुगेको थियो । राप्रपाको १४ सिट नहुँदा केही फरक नपर्ने स्थितिमा बलियो सरकार निर्माणका लागि राप्रपाले पनि समर्थन गरेको हो ।” केन्द्रमा सरकार निर्माण हुन नसक्दा राप्रपाले प्रजातान्त्रिक व्यवस्था अनुरुप सरकार बनाउन मात्र समर्थन गरेको उहाँको भनाई छ ।