हेटौंडाः मकवानपुरको स्थानीय तहका कर्मचारीहरुका लागि वित्तीय सुशासन जोखिम मुल्याङ्कनबारे दुई दिने अभिमुखीकरण सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा बागमती प्रदेश सुशासन केन्द्रको समन्वयमा शुक्रबारबाट अभिमुखीकरण सुरु भएको हो ।
अभिमुखीकरणमा जिल्लाका १० वटै स्थानीय तहका आर्थिक प्रशासन प्रमुख, योजना शाखा प्रमुख, सुचना प्रविधि अधिकृत र वित्तीय फोकल पर्सनका कर्मचारीहरुको सहभागिता रहेको छ । अभिमुखीकरणमा योजना, बजेट तर्जुमा तथा कार्यान्वयनबारे, कार्यान्वयन क्षमता, लेखा परिक्षण र अभिलेख ब्यवस्थापनबारे, अनुगमन, मुल्याङ्कन र राजस्व व्यवस्थापनबारे जानकारी गराएको प्रदेश सुशासन केन्द्रका स्थानीय शासन विज्ञ सीपी सिग्देलले बताउनुभयो । अभिमुखीकरणको मुख्य उद्देश्य स्थानीय तहलाई प्राप्त हुने अनुदान, राजस्वको रकमलाई नतिजामुखी प्रयोजनमा परिचालन गर्न सहयोग पुर्याउनु रहेको उहाँले बताउनुभयो ।
अभिमुखीकरणमा स्थानीय तहको वित्तीय प्रणाली ब्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन र स्थानीय वित्त ब्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्नेबारे छलफल भएको छ । अभिमुखीकरणमा प्रदेश सुशासन केन्द्रका स्थानीय शासन विज्ञ सीपी सिग्देल, जिल्ला समन्वय समितिका अधिकारी सीता गजुरेल र प्रदेश लेखा नियन्त्रण शाखाका अधिकारी हरी उपाध्यायले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरण शनिबार सम्पन्न हुनेछ । यस अघि जिल्लाका स्थानीय तहका प्रमुख, उप्रमुख र प्रशासकीय अधिकृतलाई अभिमुखीकरण गरिएको थियो । अबको केही दिनपछि जिल्लाभित्रका वडा सदस्यहरुका लागि पनि अभिमुखीकरण गरिने तयारी रहेको प्रदेश सुशासन केन्द्रका स्थानीय शासन विज्ञ सीपी सिग्देलले बताउनुभयो ।
जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको अभिमुखीकरणमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल लगायतको आतिथ्य रहेको थियो ।