हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) हेटौंडा उपमहानगर समितिको आयोजनामा विद्यार्थीबीच स्मरण शक्ति परीक्षण प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीका एजिल सिंह प्रथम भएका छन् । यस्तै व्रह्मदिक् एकेडेमीकी प्रिन्सा खतिवडा द्वितीय र नवोदय शिशु सदनका समराज भेटवाल तृतीय भएका छन् ।
प्रतियोगिता हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनमा भएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडर र प्रमाणपत्रले पुरस्कृत गरिएको मकवानपुर बाल विद्या सदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप राज गिरीले जानकारी दिनुभयो । १३ वटा विद्यालयबाट एक छात्र र एक छात्रा गरी २६ जना विद्यार्थीले प्रतियोगितामा सहभागी जनाएका थिए । प्रतियोगितामा सहभागीहरुलाई प्रशंसा स्वरुप मेडल प्रदान गरिएको उहाँले बताउनुभयो ।
मकवानपुर बाल विद्या सदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीपराज गिरीको सभाध्यक्षता तथा प्याब्सन हेटौंडाका सचिव श्यामकुमार बानियाँको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । प्रतियोगिताको निर्णायकको भूमिका रूपसागर दुलाल र सिर्जना थापाले निर्वाह गर्नुभएको थियो ।











