प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तिम चरणमा पुगेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक दुबैतर्फको मतगणना अन्त्यतिर पुगेको छ । निर्वाचन स्थगित भएका ३ क्षेत्र र मतगणना स्थगित भएका केही क्षेत्रबाहेक अन्यत्रको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन सम्पन्न हुँदै गर्दा निर्वाचन सफल भएको देखिए पनि विद्यमान निर्वाचन प्रणालीमा धेरै जटिलता देखिइरहेको छ । निर्वाचनका अन्य प्रक्रिया सहजजस्तो लागे पनि मतदान र मतगणना सहज बन्न सकेको छैन । मतदानको समयमा आम मतदाता घण्टौं हिँडेर मतदानस्थलमा पुग्नुपर्ने बाध्यता छ । मतदान केन्द्रमा पनि घण्टौं लाइनमा लागेर मतदान गर्नुपर्ने अवस्था छ । मतदानको क्रममा हुने विवादका कारण पनि असहज स्थिति बन्ने गरेको छ । मतदानका लागि उचित ज्ञान नहुँदा मत बदर भएर मतदान निरर्थक बनिरहेको छ । मतदान सम्पन्न भएपछि मतगणनामा त्यतिकै ढिलाई र विभिन्न प्रकारका विवाद हुने गरेका छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । निर्वाचनमा मतदान गर्नु नागरिकको कर्तव्य र अधिकार दुबै हो । मतदानबाटै नागरिकले आफ्नोतर्फबाट राज्यसत्ता सञ्चालन गर्ने प्रतिनिधि चयन गर्दछन् । यस आधारमा निर्वाचनमा सबै नागरिकको सक्रिय सहभागिता हुनु उचित हुनेछ । यसरी मतदानमा सहभागी भएका नागरिकले दिएको मत बदर हुनु हुँदैन । नागरिकले सही तरिकाले मतदान नगर्दा मत बदर हुने गर्दछ । बदर मत बढी हुँदा गलत व्यक्तिले निर्वाचन जित्ने सम्भावना रहन्छ भने निर्वाचनमा नागरिकको सहभागिता प्रभावकारी हुँदैन । त्यसैले निर्वाचनमा मतदाताको सहभागिता बढाउन र बदर मत कम गराउन निर्वाचन आयोग र सम्बद्ध राजनीतिक दलहरु गम्भीर बन्नु आवश्यक छ । यसका लागि निर्वाचनअघि र अन्य समयमा पनि मतदाता शिक्षा प्रदान गर्नुपर्छ । एकै पटक धेरै पदको निर्वाचन हुँदा मतदाताले सही तरिकाले मतदान गर्न नजान्दा पनि बदर मत बढी हुने गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत् मकवानपुर जिल्लामा मतगणना सम्पन्न भइसकेको छ । यस पटकको निर्वाचनमा मकवानपुरमा ३१ हजार ४ सय ७४ मत बदर भएको छ । जिल्लामा ३ लाख ७ सय ३३ मतदाता रहेकामा १ लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेका थिए । मकवानपुरका सबै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मतगणनाका क्रममा बदर भएका मतहरु जोड्दा ३१ हजारभन्दा बढी मत बदर भएको हो । कुल खसेको मतको करिब १८ प्रतिशत मत बदर भएको देखिन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुबै निर्वाचन क्षेत्रमा गरी ८ हजार १ सय ६० मत बदर भएको छ । प्रदेशसभाका ४ वटै क्षेत्रमा खसेको मतमध्ये ६ हजार २ सय ३० मत बदर भएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा क्रमशः ७ हजार ८ सय ९६ र ९ हजार ३ सय ५९ मत बदर भएको छ ।

मकवानपुरमा यस पटकको निर्वाचनमा विगतको तुलनामा कम मत खसेको अवस्थामा यति धेरै मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको प्रष्ट भएको छ । मतदाताले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी चार वटा मतपत्रमा मत दिनु परेकाले पनि धेरै मत बदर भएको हुनसक्छ । निर्वाचनमा बदर मत बढी हुँदा कसलाई मतदान गरेको हो पहिचान गर्न सकिँदैन । यसले निर्वाचनबाट वास्तविक जनमत बुझ्न कठिन हुन्छ । निर्वाचन प्रक्रियालाई सरल बनाउनुका साथै विद्युतीय भोटिङ मेशिनको प्रयोग गर्न सकेमा निर्वाचनमा मतदाताको सहभागिता वृद्धि गर्न र बदर मत कम गर्न सकिनेतर्फ सरकार र निर्वाचन आयोगको ध्यान जानु आवश्यक छ ।