स्थानीयले सडकमा अवरोध गरेपछि रोकिएका सवारी साधन ।

हेटौंडाः हेटौंडा–सिन्धुली सडकखण्डको हेटौंडा–१८, खडकुलेमा अवरोध गरिएको सडकखण्ड ४ घण्टापछि खुलेको छ । शुक्रबार फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा मृत्यु भएका र घाइते भएकाको उपचार खर्च नव्यहोरेको भन्दै स्थानीयले सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सडकखण्ड अवरोध गरेका थिए ।

दुर्घटना हुँदा मृत्यु भएका परिवार र घाइते भएका बिरामीको औषधी खर्च व्यहोर्ने सहमति भएपछि सडकखण्ड खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु भएकाको परिवारलाई राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सहमति भएको उहाँले बताउनुभयो । सडकमा अवरोधका कारण रोकिएका सवारी साधन पीडित पक्षसँगको सहमतिपछि सुचारु भएको छ ।

शुक्रबार फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र हेटौंडा बजारबाट हर्नामाडीतर्फ जाँदै गरेको ना ४७ प ३०४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा हेटौंडा–१८ का २८ वर्षीय आशिष ढकालको मृत्यु भएको थियो भने २९ वर्षीय दीपु लामा गम्भीर घाइते भएका थिए । घाइते लामाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।