प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान गर्ने दिन नजिकिँदै जाँदा चुनावी चर्चा पनि बढ्दै गएको छ । राजनीतिक दलका तर्फबाट एवम् स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु आफ्नो पक्षमा आउनसक्ने सम्भावित मतको गणनामा व्यस्त छन् । करिब तीन साताको अघोषित प्रचारप्रसार र पछिल्लो दुई साताको घोषित प्रचारप्रसारबाट उम्मेदवारहरुले आफ्नो पक्षमा रहेका मतदाताको सामान्य आंकलन गरिरहेका छन् । यसपटकको निर्वाचनमा कतिपय मतदाता भने मतदानबारे अझै अनिर्णित बनिरहेका छन् । चुनावमा स्वतन्त्र उम्मेदवार, युवा उम्मेदवार, लौरो अभियान, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको चर्चाले कतिपय मतदाता कसलाई भोट हाल्ने भन्नेमा दोधारमा देखिन्छन् । यस्तै, नो नट अगेनको अभियानले पनि मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्यौल देखिएका हुन् ।

निर्वाचन आउन ३ दिन बाँकी रहँदा चुनाव प्रचारप्रसारको समयावधी पनि सकिँदैछ । आज (असोज १ गते) राति १२ बजेबाट निर्वाचनलक्षित प्रचारप्रसारका कार्यक्रम बन्द हुनेछन् । निर्वाचन आयोगले आज बिहीबार राति १२ बजेबाट स्थिर समय (मौन अवधि) सुरु हुने जनाएको छ । यो समय उम्मेदवार र उसका सहयोगीका लागि आफ्नो पक्षमा आउनसक्ने मतको जोडघटाउमा व्यस्त हुने समय हो । तर, यही समयमा उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेदलगायतका सबै प्रयास गर्ने गरेको पाइन्छ । विगतका निर्वाचनमा मौन अवधिमा खुलेर प्रचार नगरिए पनि उम्मेदवार र उसका प्रतिनिधि मतदाता फकाउन घरघरमै पुग्ने गरेका थिए । यसपटक पनि त्यसो नहोला भन्न सकिँदैन । मतदानको मिति नजिकिँदै जाँदा मतदातालाई प्रभावित पार्न हरप्रकारका उपाय अवलम्बन गर्नसक्ने भएकाले मतदाता सचेत बन्नुपर्छ ।

५ वर्षपछि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् । जनताले आफूमा निहित सार्वभौमसत्तालाई आवधिक निर्वाचनमार्फत् मतदान गरेर आफ्ना प्रतिनिधि छनोट गर्दछन् । जनताद्वारा निर्वाचित प्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्दछन् । यसरी अभ्यास हुने सार्वभौमसत्ताको प्रयोगमा आवधिक निर्वाचनमा विजय भएकाहरुसँग जति अवधिका लागि विजय भएको हो, सो अवधिभर जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार रहन्छ । उनीहरुले गर्ने असल र खराब दुबै प्रकारका कामको जवाफदेहिता उनीहरुलाई मतदान गरी निर्वाचित गर्ने मतदाताले लिनुपर्छ । खराब व्यक्ति निर्वाचित भएमा त्यसको मूल्य आम मतदाताले अर्को ५ वर्षसम्म चुकाउनु पर्दछ । यसकारण आफूले मतदान गर्ने उम्मेदवार योग्य र असल होस् अनि आफ्नो मतबाट चुनिएको व्यक्तिले कुनै पनि गलत काम नगरोस् भन्नेमा मतदाता सचेत बन्नुपर्छ ।

निर्वाचन जनताले आफ्ना प्रतिनिधि छान्ने मौकामात्र होइन, विगतमा छानिएका खराब प्रवृत्तिका प्रतिनिधिलाई सजाय दिने अवसर पनि हो । नेतृत्व सही वा गलत भन्ने वास्तविक परीक्षण निर्वाचनमार्फत् हुने हो । मतदाता सचेत र चलाख भएमा गलत नेतृत्वले टाउको उठाउन सक्दैन । मतदानको समयमा आम मतदाताले आफ्नो विवेकको सही प्रयोग गर्न सकेमा त्यसले नेतृत्वको हैसियत निर्धारण गर्न सक्छ । आफ्ना प्रतिनिधि चयनका लागि मतदान गर्ने समयमा उम्मेदवारको चरित्र र क्षमतालाई बढी महत्व दिनुपर्छ । आफूले मतदान गर्ने उम्मेदवारको चारित्रिक गुणहरुलाई विशेष ख्याल गरेर उसको शैक्षिक तथा अन्य योग्यताको परीक्षण गर्ने काम मतदाताले गरेमा गलत व्यक्ति निर्वाचित हुने सम्भावना रहँदैन ।