मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई अनेकौं पाटोबाट विश्लेषण गर्न सकिने अवस्था छ । हिजो एउटा नेताको टाउकोको मूल्य तोक्ने नेता र लाखौं मूल्यको टाउको बोकेर हिँडने नेताबीच गठबन्धन बनेको छ । लोकतन्त्रको विरोधी दलका नेता र लोकतन्त्रका लागि लड्ने नेताबीच पनि तालमेलको स्थिति छ । मकवानपुर जिल्लामा भने गुरु र चेलाबीच प्रतिस्पर्धा छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा समाजवादी पार्टीका विरोध खतिवडा र नेकपा एमालेका महेश बर्तौलाबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनका उम्मेदवार खतिवडालाई पाँचौं पटक निर्वाचित हुन उनैका चेला महेश बर्तौलाको चुनौति छ । निर्वाचनको तयारी सम्बन्धमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले नेकपा समाजवादीका नेता विरोध खतिवडासँग गर्नुभएको कुराकानीः
तपाइँको पार्टी र उम्मेदवारको हिसाबले निर्वाचनलाई कसरी हेर्नु भएको छ ?
खतिवडाः परिस्थिति परिवर्तन भएको छ । हिजो म नेकपा एमालेबाट प्रतिनिधित्व गर्थे । अहिले म फरक दल गठन गरेर निर्वाचनमा आएको छु । गठबन्धन दल सबैले मलाई पत्याएर टिकट दिएका छन् । गठबन्धन दलमा पनि अन्य जिल्लामा जस्तो मकवापुरमा त्यति झमेला छैन । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको पनि साथ छ । सर्वसम्मत जसरी सबैको साथमा उठेको छु । नेकपा एमालेमा पनि मेरो राम्रो योगदान थियो । त्यसले गर्दा एमालेमा पनि मेरो राम्रो मतदाता छन् । एमालेको मतदातामा मेरो राम्रो पकड छ । राजनीतिक रुपमा मुद्दा फरक छ । प्रतिगमन र अग्रगमन, संघीयता, गणतन्त्रको रक्षा, संविधान निर्माण, धर्म निरपेक्षता लगायतको संविधानले स्थापित गरेको मुद्दामा तत्कालिन सरकारले प्रहार गर्दै आएपछि त्यसको बिरुद्धमा हाम्रो गठबन्धन भएको हो । केपी ओलीले संविधान मिच्दै छन् र उनको नेतृत्व प्रतिगमनतर्फ गईरहेको छ भनेर पुष्टि भइरहेको छ । यो पटकको चुनाव संविधानबाट प्राप्त निष्कर्षलाई स्वीकार गर्ने कि ध्वस्त गर्ने भन्ने तर्फ छ । हामी यो पटक नयाँ मुद्दामा चुनाव लडिरहेका छौं ।
घरदैलो अभियानमा हिँडिरहँदा मतदाताको मनस्थिति कस्तो पाउनु भएको छ ?
खतिवडाः स्थानीयले चुनाव लागेकै छैन भन्ने जस्तो पनि कुरा गरेका छन् । पहिलेको चुनावमा ब्यानर, मोटरसाइकल ¥याली, पोष्टरहरु लगायत तामझामपूर्ण क्रियाकलाप हुन्थ्यो । त्यो सबै निर्वाचन आयोगले बिस्तारै हटाउँदै लगेको छ । त्यसले गर्दा चुनाव नआएको हो कि भन्ने पनि छ । चुनावको दृश्यमा परिवर्तन आएको छ । तर, चुनाव उस्तै देखेको छु । घरदैलोमा हिँडेका छौं । मतदाता शिक्षामा लागेका छौं । टोल वडास्तरीय भेटघाटमा लागेका छौं । कार्यकर्ताको सक्रियता र चुनावप्रतिको चासोमा कमी आएको छैन ।
निर्वाचनमा संसदीय भूमिकाको विषयहरु आएनन् । बढी विकासका मुद्दाहरु मात्र आए भन्ने गुनासो आउने गरेको छ । यसले पनि मतदाताले अविश्वास गरेका हुन् भन्न मिल्छ ?
खतिवडाः संसदीय भूमिकाको विषयमा त मैले नयाँ नयाँ मुद्दा उठाउँदै आएको छु । विधेयक निर्माण गर्नुपर्ने विषयहरु हुनुपर्ने भन्ने कुरा हो । हाम्रो जस्तो मुलुकमा विकाससँग जोडिएको हुन्छ । अहिलेसम्म २०४८, २०५१, २०५६ लगायत सबै निर्वाचनमा विकासका मुद्दा उठाएकै छैन । त्यसो हुँदा बिरोधले के ग¥यो भन्ने गरेकोले यो पटक मैले आक्रामक ढंगबाट आएको छु ।
गाँजाको विषय उठाउनु भयो । तर, स्वास्थ्यमन्त्री हुँदा गाँजाको विषयमा केही पनि काम हुन सकेन भन्ने आलोचना हुने गरेको छ नि ?
खतिवडाः गाँजाको विषयमा सम्पूर्ण दललाई सहमति गराएको छु । स्वास्थ्यमन्त्री भएपनि गाँजा गृह मन्त्रालय अन्तर्गत पर्छ । गृह मन्त्रालयले विधेयक टुङ्ग्याएको छ । कानून मन्त्रालयमा गएर भाषागत त्रुटिहरु सच्याउने काम भइरहेको छ । यहि प्रक्रियामा अड्किएको छ । केपी ओलीले मेरो विषयलाई बेवास्ता गर्नुभयो । किनभने मैले बा भनेर गइनँ । तर, सबै दलहरुसँग संसदमा सम्झौता गर्ने काम भएको छ । पछिल्लो ९ महिना नेकपा एमालेले संसद चल्न दिएनन् । जसले गर्दा गाँजाको विषयलाई मूर्त रुप दिन सकिएन । सैद्धान्तिक सहमति भएको छ । चुनावपछि यो विधेयक पारित हुन्छ ।
पहिले एउटै पार्टीमा रहेको व्यक्ति प्रतिस्पर्धी हुनुहुन्छ । प्रमुख प्रतिष्पर्धीका रुपमा नेकपा एमालेका महेश बर्तौलालाई कत्तिको चुनौतिको रुपमा हेर्नु भएको छ ?
खतिवडाः चुनाव भनेको नै चुनौति हो । विभिन्न दल, स्वतन्त्र उम्मेदवार छन् । प्रतिस्पर्धीमा एकजनाले जित्ने हो । अरु पराजित हुने हो । १० जनालाई नै प्रतिस्पर्धीको रुपमा हेरेको छु । आफुसहित सबै चुनावी प्रतिस्पर्धी हुन् । को होचो ? को अग्लो ? को सानो ? को ठूलो ? भन्ने हेरेको छैन । मैले सबैलाई प्रतिस्पर्धीको रुपमा हेरेको छु ।
निर्वाचनमा निर्वाचन चिन्ह महत्वपूर्ण मानिँदै आएको छ । यसअघि ४ पटक तपाइँ चुनाव चिन्ह सूर्यबाट निर्वाचित हुनुभयो । अहिले नयाँ निर्वाचन चिन्हलाई कत्तिको चुनौतिको रुपमा बुझ्नु भएको छ ?
खतिवडाः होइन मैले त माछा चुनाव चिन्ह लिएर पनि लडेँ । सूर्य लिएर पनि लडेँ । अनेक लडेँ । चुनाव चिन्ह स्थापित गर्ने भनेको नेताले, पार्टीले नै हो । जन्मजात एमालेले सूर्य चिन्ह लिएर आएको होइन, कांग्रेसले रुख लिएर आएको होइन । चुनाव चिन्ह जे–जे लिए पनि मतदात गर्ने एउटा संकेत हो । यो त चुनावी प्रक्रिया अन्तर्गत हामीले प्राप्त गर्ने एउटा नमूना हो । विरोध खतिवडालाई मतदान गर्ने हो ।
मकवानपुरको दुर्गम क्षेत्रमा पनि तपाइँको चुनाव चिन्ह परिचित भइसक्यो ?
खतिवडाः लगभग परिचित भइसक्यो । हामीले कार्यकर्ता खटाएका छौं । वडैपच्छिे कार्यकर्ता खटाएका छौं । भइरहेका सभाहरुबाट जानकारी गराएका छौं । मकवानपुरको दुर्गम भनेको राक्सिराङ हो । त्यहाँ पनि ५÷७ सयको संख्यामा उपस्थित मतदातामाझ चुनाव चिन्ह चिनाउने काम भएको छ । गठबन्धनका कारण सबै दलले प्रचार गरेको छ ।
नेकपा समाजवादीले यो निर्वाचनमा कतिको सिट जित्ने देख्नुभएको छ ?
खतिवडाः स्वभाविकरुपमा गठबन्धन भएकोले चुनावमा सबै क्षेत्र नै जितिन्छ भनेर आश गर्नुपर्छ । तर, चुनाव भनेको अघिल्लो पटक पनि माओवादी र एमाले गठबन्धन गर्दा सबै नै जितिन्छ भन्दा भन्दै पनि २३ सिट कांग्रेसलाई गयो । त्यसैकारण अहिले पनि हामी सबै जित्छौं भन्दा पनि १५, २० सिट एमालेलाई जान सक्छ । गठबन्धन निर्माणको क्रममा हामीले २१ सिट पाएका थियौं । त्यसमध्ये एउटा उम्मेदवारी खारेज भएकोले २० वटा उम्मेदवारी कायमै छ । जसमध्ये हामी १५ भन्दा बढी सिट जित्न सक्छौं । १९ सिट जित्यौं भने आश्चर्य मान्नु पर्दैन । कांग्रेसको पनि सबै सिट आयो भने या ५ सिट कम आयो भने आश्चर्य मान्नु पर्दैन । तर, २५ सिट केपी ओलीले कटायो भने आश्चर्य मान्नुपर्छ ।