हेटौंडाः आसन्न निर्वाचनमा प्रदेश सभातर्फ मकवानपुर क्षेत्र १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले कमल थापाप्रति संकेत गर्नुहुँदै जनतामाझ एकछिन आएर हात जोडेर सूर्य चिन्ह लिँदैमा सबै कुरा गर्न नपाइने बताउनुभएको छ । बुधबार हेटौंडा–४ स्थित पशुपति सभा हलमा आयोजित गठबन्धनको चुनावी सभा तथा कार्यकर्ता भेलालाई सम्बोधन गनुहुँदै पराजुलीले कमल थापाले मकवानपुरका लागि केही गर्न नसकेको र अहिले सूर्य चिन्ह लिएर चुनाव लड्दैमा धेरै कुरा गर्न नपाइने बताउनुभयो ।
पराजुलीले अहिले मकवानपुरमा दशकौँदेखि पटक–पटक चुनाव जितेर नेतृत्व तहमा पुगेर केही गर्न नसकेकोले गठबन्धनबाट आफु उम्मेदवार बनेको बताउनुभयो । अहिले आफुहरु घरदैलो कार्यक्रममा पुग्दा यसअघिको नेतृत्वले गर्दा मतदाताहरु रुष्ट बनेको उहाँको भनाई छ । उहाँले आफुले चुनाव जितेमा हेटौंडा–४ र ८ नम्बर वडा जोड्ने पक्की पुल निर्माण गर्ने बताउनुभयो । पराजुलीले गठबन्धनका उम्मेदवारले चुनाव जितेमा हेटौंडामा प्रादेशिक अस्पताल, प्रादेशिक विश्वविद्यालय र रिङरोडहरु निर्माण गर्ने आश्वासन समेत दिनुभयो ।
गठबन्धन हेटौंडा–४ निवार्चन परिचालन कमिटी संयोजक हरि पौडेलेको सभाध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, काङ्ग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल लगायत गठबन्धन दलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।











