हेटौंडाः हेटौंडा उपमहानगरपालिका डेंगुको संक्रमण संख्या बढ्दै गएपछि नगरका सबै वडाहरुमा स्प्रे गर्न सुरु गरेको छ । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु नियन्त्रण गर्न किटनासक औषधिसहितको स्प्रे नगरका सबै वडाहरुमा पुगेको उपमहानगरपालिकाले जनाएको छ ।
डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको जनस्वास्थ्य शाखाले जनाएको छ । असारको अन्तिम साताबाट डेंगुको बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरि डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रमसँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो । उपमहानगरले फैलदै गरेको डेंगु नियन्त्रणका लागि नियमित रुपमा स्प्रे अभियानसहित बिरामीलाई उपचारमा सहयोग गर्दै आएको छ । उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई २ हजारभन्दा बढि परिमाणमा डेंगु परिक्षण किट सहयोग गरेको नगर प्रमुख मिनाकुमारी लामाले बताउनुभयो । किट अभाबकै कारण नगरवासीसहित अन्य बिरामीहरुले उपचारमा समस्या व्यहोरेपछि नगरपालिकाले किट खरिद गरेर हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।
नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउँदा थप समस्या भएको उहाँले बताउनुभयो । अहिले घर बाहिरभन्दा पनि नगरवासीले घर भित्रको सुरक्षालाई ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानियको माग अनुसार स्प्रे अभियान संचालन गरेको जनाएको छ । बढिमात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु धेरै देखिएकाले अभियानलाई बजार केन्द्रित गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले हेटौंडा बजार क्षेत्रको २, ४, ५, १, १० नम्बर वडालाई प्राथमितामामा राखेर स्प्रे अभियान संचालन गरिरहेको छ । जोखिमपुर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गरीरहेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा १९५ जनामा डेंगुको संक्रमण रहेको थियो । चालु आर्थिक बर्ष २०७९/०८० मा अहिलेसम्म ३ हजार ७ सय ६२ जनामा डेंगु संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
हेटौंडामा डेंगुका बिरामी उपचारपछि निको भएपनि दोहोरीने बिरामीहरु पनि फेला परेको तथ्याङ छ । संक्रमण दर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडाहरुमा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाहरुको अगुवाईमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरीरहेको छ । अभियान अनुसार वडा तहमा गएर सरोकारवालाहरुको सहभागितामा लार्भा नष्ट गर्नका लागि सचेतना कार्यक्रम गर्दै वडाहरुको जोखिमपुर्ण ठाउँको अनुगमन गरी सफा गर्ने कार्यक्रम सञ्चालन भईरहेको जनस्वास्थ्य शाखाले जनाएको छ ।











