दशैं पर्वको सुरुवात भइसकेको छ । दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । अधिकांश नेपालीले हर्षोल्लासका साथ दशैं मनाउने गर्दछन् । दशैंलाई खुशियालीसाथ मनाउँदै गरेका नेपालीमा यही बेला हुने सवारी दुर्घटना तथा आपराधिक घटनाले चिन्ता थप्ने गरेको छ । अघिपछिको तुलनामा दशैं, तिहारजस्ता चाडपर्वको समयमा विभिन्न किसिमका अपराध एवम् सवारी दुर्घटना धेरै हुने गरेको विगतका तथ्याङ्कले पुष्टि गर्दछ । चाडबाडको समयमा हुने दुर्घटना र आपराधिक घटना कम गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने गरेको भए पनि यस्ता घटनाले धेरैलाई पिरोल्ने गरेको छ । सवारी साधनको चाप बढ्दै गएका कारण सडक दुर्घटना पनि बढ्दै गएको छ । सडकको स्तरोन्नति र विस्तार नहुँदा र क्षमताभन्दा बढी सवारी साधनका कारण दुर्घटनामा वृद्धि भए पनि चाडपर्वको बेलामा सवारी चालक र यात्रुको लापरबाही एवम् बाध्यताले दुर्घटना बढी हुने गरेको छ ।
दशैं सुरु हुने अघिल्लो दिनमात्र मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । भीमफेदी–६, सिमलटारमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमो आइतबार दुर्घटना भएको हो । भीमफेदी–६ कै जुरिखेतमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । काठमाडौंबाट वीरगञ्ज जान लागेको बस दुर्घटना हुँदा २ दर्जनभन्दा बढी घाइते भएका थिए । गम्भीर घाइते भएका ४ जना चितवन मेडिकल कलेज र १५ जना हेटौंडा अस्पतालमा उपचार गराइरहेका छन् । दशैं सुरु नहुँदै भएका यी दुर्घटनाबाट यात्रु तथा सवारी चालक सचेत बन्ने र सवारी साधन नियमन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयहरुले सम्भावित दुर्घटना न्यूनीकरणमा प्रभावकारी कदम चाल्ने हो भने दशैंको समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्नसक्छ ।
दशैं, तिहारको समयमा यातायात क्षेत्रमा यात्रुको चाप बढी हुने गर्दछ । रोजगारी, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा घरबाहिर रहेका सबैजसो यस्ता चाडको समयमा घर जान चाहन्छन् । यस्तो बेला सार्वजनिक सवारीमा यात्रुको घुइँचो नै लाग्दछ । दशैंको समयमा सवारी साधनमा हुने भिडभाडलाई कम गर्न यातायात व्यवस्था कार्यालयले सार्वजनिक यात्रुबाहक सवारीलाई रुटपर्मिट नचाहिने व्यवस्थासमेत गरेको छ । यसले यात्रुको आवागमनमा सहजता भए पनि दुर्घटनाको जोखिम बढ्ने निश्चित छ । यात्रुको चाप बढ्ने भएका कारण यातायात व्यवसायीको मौका चौका हान्न खोज्दा यात्रा असहज हुनेमात्र नभई दुर्घटनाको जोखिम बढ्न सक्नेतर्फ नियमनकारी निकाय गम्भीर बन्नुपर्छ । चाडपर्वको समयमा सकेसम्म धेरै यात्री बोक्ने, दिनरात सवारी साधन चलाउने, तिब्र गतिमा सवारी हाँक्नेजस्ता कारण दुर्घटनाको जोखिम बढ्ने हुँदा यसलाई अन्त्य गर्न ट्राफिक प्रहरीको सक्रियता बढ्नुपर्छ ।
दशैं, तिहारजस्ता मुख्य चाडपर्वको समयमा हुनसक्ने दुर्घटनाको जोखिम र आपराधिक घटना न्यूनीकरणका लागि प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिसकेको छ । सोही अनुसार प्रहरी गस्ती र ट्राफिक चेकिङलाई थप प्रभावकारी बनाउन थालिएको छ । यात्रुको सहजताका लागि हेल्पडेस्कको व्यवस्थासमेत गरिएको छ । यति हुँदाहुँदै पनि सडक पूर्ण सुरक्षित हुन सकेको छैन । विशेषगरी चालकको लापरबाही, मादकपदार्थ सेवन, तिब्र गति, जीर्ण सवारी साधन, क्षमताभन्दा बढी यात्रु, साँघुरा र गुणस्तरहीन सडकका कारण सवारी दुर्घटना बढी हुने भएकाले यस्ता समस्या समाधानमा सम्बद्ध पक्षले ध्यान दिनु आवश्यक छ ।