हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा परी एकैदिन ५ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, र मकवानपुर गरी ३ जिल्लामा एकैदिन ५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बुधबार बिहान ६ बजे समयमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १ चौकीटोलका २८ वर्षीय चुनिसरा आले र हेटौंडा–१३, बाडाचौरका ४० वर्षीय कृष्ण बहादुर सुनार रहेका छन् । मंगलबार आलेले आफ्नै घरमा झुण्डि मृत्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । यस्तै, हेटौंडा–१३ बाडाचौरका सुनारले विषादि सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवन गरेका सुनारलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा डाक्टरले मंगलबार राती १० बजेर ३५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मंगलबार नै चितवन जिल्लामा २ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका १७ भ्युटावरमा एक पुरुषको शव फेला परेको छ । भ्युटावर स्थित नारायणी नदीको बीच भङ्गालोमा सनाख्त नभएको ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव सडीगली सकेको अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । शवलाई पानीबाट निकाली मुचुल्का पश्चात जिल्ला अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका शितलटोलमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँमा बस्ने ७५ वर्षीय राम बहादुर सार्की रहेका छन् । सार्कीले आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लाग्दा उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
यसैबीच, धादिङ जिल्लाको खनियाबास गाँउपालिका–२ मा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ वर्षीय सन्देश तामाङ रहेका छन् । तामाङलाई अचानक चट्याङ लागी मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । यस्तै, मंगलबार विभिन्न घटनामा ६ जना घाईते भएका छन् ।