कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे ।

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सबैले आफ्नो जीवनको महत्व बुझ्नुुपर्ने बताउनुभएको छ । आइतबार बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडामा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रममा बोल्नुहुँदै उहाँले गलत निर्णय लिन नहुने बताउनुभएको छ ।

मानिसहरुले आफ्नो जीवनको महत्व नबुझ्दा आत्महत्या गर्ने गरेको भन्दै उहाँले सबैले जीवनको महत्व बुझ्नुपर्ने बताउनुभयो । आफुले साचेका काम पुरा गर्न नसक्दा आत्महत्याको सोच आउने भएकाले यसलाई आफैंले नियन्त्रण गर्नुपर्ने उहाँको भनाई छ । जीवनमा कुनै क्षण र समयमा असफल भएका व्यक्तिपछि सफल भएको विश्वमा धेरै घटनाहरु रहेको भन्दै उहाँले आत्महत्या गर्न नहुने धारणा राख्नुभयो । शिक्षक, राजनितिक दलका नेता, कार्यकर्ता लगायत सबै क्षेत्रले जीवनको महत्व बुझाउने विषयमा बुझाउनुपर्ने बताउनुभयो । जीवनको महत्व बुझाउने पहिलो पाठशाला नै परिवार भएकाले परिवारका अभिभावकले परिवारको रेखदेखसँगै समस्या बुझ्नुपर्ने उहाँको भनाई छ ।

यस्तै, बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव उपरिक्षक दीपक रेग्मीले बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) गत आर्थिक वर्ष २०७८/७९ मा ९ सय २ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो । जसमा ४६–६० वर्ष उमेर समूहको बढी रहेको उहाँले बताउनुभयो । यस्तै, १६ वर्षमुनिका ५४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा देखिन्छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद खनाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक किरण बज्राचार्य लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।