नेपालीहरुको महत्वपूर्ण चाडपर्व सुरु भइसकेको छ । यस वर्षको जनैपूर्णिमा, कुशे औंशी, कृष्ण जन्माष्टमी, तीजलगायतका चाडपर्वहरु सम्पन्न भइसकेका छन् । अबको दश दिनपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु हुँदैछ । दशैंपछि पनि तिहार, छठजस्ता अन्य महत्वपूर्ण चाडपर्व आउने गर्छन् । धेरै नेपालीले मनाउने यस्ता चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने इच्छा सबैको हुन्छ । हामी नेपाली अरु समयमा भन्दा चाडपर्वको समयमा बढी किनमेल गर्दछौं । चाडपर्व मनाउने क्रममा खाद्यान्न, कपडालगायत अन्य सामग्री खरिद गर्न ग्रामीण भेगका मानिसहरु शहर, बजारमा आउने गर्दछन् । चाडपर्वको बेलामा अन्य समयभन्दा बजारमा मानिसहरुको चहलपहल बढ्ने गर्दछ । मानिसहरुको चलहल बढ्नु बजारका लागि फाइदाजनक भए पनि यसले बजारमा अनियमितता वृद्धि गर्नुका साथै सुरक्षा चुनौती पनि बढाउँछ ।
दशैं, तिहारजस्ता प्रमुख चाडपर्वको समयमा बजार क्षेत्रमा चोरी, डकैती, लुटपाटजस्ता आपराधिक गतिविधि बढी हुने गर्दछ । यस्तै उपभोक्ता वा सेवाग्राही ठगिने क्रम पनि यही समयमाा बढी हुन्छ । चाडपर्वकै समयमा सवारी दुर्घटना पनि बढी हुने गरेको पाइन्छ । सार्वजनिक यातायातका साधनमा यात्रुहरु ठगिने, बजारमा उपभोक्ताहरु ठगिने पनि यस्तै समयमा हुन्छ । यी सबै कारणले चाडपर्वको समयमा अन्य समयमा भन्दा बढी सुरक्षा चुनौती हुने गर्दछ । चाडपर्वको रमाइलोमा धेरै मानिसहरु रमाइरहँदा केही मानिस भने दुःखी हुनुपर्ने अवस्था आउन सक्ने भएकाले विगतको समयमा स्थानीय प्रशासनले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू गर्ने गरेको थियो । चाडपर्वको समयमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीको सामना गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायले योजनाबद्ध पूर्वतयारी गर्ने गरेका थिए ।
नेपालीहरुको महत्वपूर्ण चाड दशैंको समयमा हुने सुरक्षा संवेदनशीलतालाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले विगतका वर्षहरुमा विभिन्न योजना कार्यान्वयन गर्दथ्यो । चाडपर्वको समयमा मानिसको धेरै चहलपहल हुने विभिन्न सार्वजनिक क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरी खटाउने गरिन्थ्यो । बसपार्क तथा सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गर्नेदेखि मुख्य राजमार्गमा २४ घण्टा नै प्रहरी निगरानी राख्ने गरिन्थ्यो । बजार क्षेत्रका भीडभाड बढी हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरिएको थियो । अझ कहिलेकाहीँ चाडपर्वको समयमा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे सचेत बनाउन पर्चा, पम्पलेट वितरण गर्नेसम्मका कार्यक्रम प्रहरी प्रशासनले गर्दथ्यो । तर, यसवर्ष अहिलेसम्म चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक भएको छैन ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भिड बढ्न थालेको छ । चाडपर्वको बेलामा चहलपहल र गतिविधिमा वृद्धिसँगै समाजमा अपराध पनि बढ्न थाल्छ । यो बेलामा बजारमा उपभोक्ताहरु ठगिने सम्भावना रहन्छ भने कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाएर कालोबजारी गर्नेहरु पनि सक्रिय हुने गर्दछन् । मानिसहरुको चहपहलसँगै वृद्धि हुने आपराधिक क्रियाकलाप र विकृति रोक्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउनु पर्छ । यसका लागि स्थानीय प्रशासन र प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्था लागू गर्नु आवश्यक छ । चाडपर्वको बेलामा बजार अनुगमन, यातायात व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा सरोकारवाला निकायको बढी चासो र चिन्ता हुनुपर्छ । यसका लागि सम्बद्ध निकायबीच उचित समन्वय पनि हुनु आवश्यक छ ।