चितवनः मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ’छेलिएका अनुहार’ माथि शनिबार चितवनमा अन्तरक्रिया भएको छ । चितवन साहित्य परिषद्को सभाहलमा भएको छलफलमा उदय अधिकारीले प्रताप विष्टको विषयमा बोल्नु भएको थियो । अधिकारीले प्रताप विष्ट सरल स्वभावका पत्रकार भएको बताउनुभयो । असार अन्तिम साता सार्वजनिक भएको विष्टको पुस्तकमा चेपाङ, बनकरिया र गाडी बोल्नेहरुको विषयमा प्रकाशित समाचारहरूको संग्रह हो ।
विष्टको पुस्तकमाथि टिप्पणी गर्नुहुँदै समीक्षक डीआर पोखरेलले २०५१ सालदेखि २०७५ सालसम्म प्रकाशित समाचार समावेश गरिएको जानकारी दिनुभयो । नागरिकता नै नभएर आवासको सुविधा समेत नहुनुका साथै सरकारी सेवा सुविधाबाट बञ्चित भएको यथार्थलाई पुस्तकमा प्रकाशित समाचारहरुबाट बुझ्न सकिने पोखरेलले उल्लेख गर्नुभयो ।
पुस्तकमाथि अन्तरक्रियाका क्रममा लेखक प्रताप विष्टले चेपाङ समुदायको समाचार पत्रकारिताको सुरुवाती चरणमा समाचार प्रकाशित हुने विषयको रुपमा हेरिएको बताउनुभयो । राजनीतिक स्थिरताका कारण सामाजिक, आर्थिक मुद्दा समाचारको विषय बन्ने क्रममा पनि चेपाङको मुद्दा समाचारको प्राथमिकतामा परेको विष्टले उल्लेख गर्नुभयो । एउटा दस्तावेजको रुपमा राख्न पनि पुस्तक तयार पारिएको विष्टको भनाइ छ । गाडी बोक्ने यथार्थ भोलि मिथकको रुपमा नरहोस् भनेर पुस्तकमा समेटिएको उहाँले स्पष्ट पार्नुभयो ।
९९ वर्षको जयपति चेपाङले सरकार गरिब छ भन्दै सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता समेत लिन्न भनेको विषय उहाँले स्मरण गर्नुभयो । चेपाङ, बनकरिया र गाडी बोक्नेको कथा बुझ्न धेरै मानिसमा जिज्ञासा राख्ने गरेको सन्दर्भमा सबैले अध्ययन र विश्लेषणका लागि एउटा दस्तावेज तयार पारिएको विष्टको भनाइ थियो । चेपाङ समुदायको भाषा लोप होला कि भनी चिन्ता लागेको विष्टले बताउनुभयो ।
अन्तरक्रियामा संविधान सभा सदस्य गोविन्दराम चेपाङले चेपाङहरु मान्छेको मासु खान्छन्, चेपाङको पुच्छर हुन्छ भन्ने समाचार पढेपछि चेपाङ समुदाय संगठित भएको बताउनुभयो । उहाँले अब चेपाङका सामाजिक, आर्थिक परिवर्तनको समाचार सार्वजनिक गर्न पनि आग्रह गर्नुभयो । रानीको सवारीका बेला रानीले यी पनि मेरा प्रजा हुन् भनेपछि प्रजा लेख्न सुरुवात गरिएको स्मरण गर्नुहुँदै गोविन्दराम चेपाङले अब प्रजा हटाएर चेपाङ लेखाउने बताउनुभयो ।
चितवनको सम्पूर्ण किताबको आयोजना तथा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा अन्तरक्रिया भएको हो । ईच्छा कामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङको पनि सहभागिता रहेको थियो । अन्तरक्रियामा पत्रकार रमेशकुमार पौडेलले सहजीकरण गर्नुभएको थियो । विष्टको पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।