प्रत्येक वर्ष अगष्ट १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिसअनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा भने सन् २००४ देखिमात्र अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको पाइन्छ । यसवर्ष नेपालको १९ औं र विश्वको २३ औं युवा दिवस हो । हरेक वर्ष फरक–फरक नारासहित यो दिवस मनाउने गरिएको छ । युवा शक्तिलाई विकासमा कसरी समाहित गराउन सकिन्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

यसवर्ष अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हेटौंडामा पनि सप्ताहव्यापी विविध कार्यक्रम गरेर युवा दिवस मनाइएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा “अन्तरपुस्ताको ऐक्यबद्वता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्वता” भन्ने नारासहित विविध कार्यक्रम गरेर दिवस मनाइएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पाँचौं दिन शनिबार दिवसको मुख्य दिन पर्यटन प्रबर्द्धनका लागि पदयात्रा आयोजना गरिएको छ । साताव्यापी कार्यक्रमअन्तर्गत् मंगलबार पहिलो दिन वृक्षरोपण गरिएको थियो । दोस्रो दिन बुधबार रक्तदान कार्यक्रम गरिएको थियो भने तेस्रो दिन बिहीबार खुला साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै, चौथो दिन शुक्रबार प्रभातफेरी कार्यक्रम गरिएको छ भने छैटौं दिन आइतबार स्लो बाइक रेस गरेर सातौं दिन समापन गरिनेछ । समापनकै अवसरमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसँग समसामयिक विषयमा युवाहरुको अन्तरक्रियासमेत आयोजना गरिनेछ ।

शारीरिक र मानसिक विकासका दृष्टिले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहका मानिसलाई नै युवाको रुपमा चिन्ने गरिन्छ । युवाहरु नै जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह हो । संसारभर युवाको परिभाषा एकनाश पाइँदैन । उमेरका आधारमा फरकफरक रुपमा युवालाई परिभाषित गर्ने गरिएको छ । संयुक्त राष्ट्रसंघले १५ देखि २५ वर्ष उमेरभित्रका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । नेपालको राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मानेको छ । नेपालको जनसंख्याको झण्डै ४० प्रतिशत हिस्सा युवाको छ । तर, देशमा युवाहरु नै सबैभन्दा बढी बेरोजगार रहेका छन् । देशमा रोजगारी नपाएकै कारण प्रत्येक वर्ष ५ लाखको हाराहारीमा विदेशिने गरेका छन् । देश विकासको मेरुदण्ड मानिएको युवालाई जबसम्म विदेश पलायन हुनबाट रोक्न सकिँदैन, तबसम्म देशको विकास हुन सक्दैन ।

युवा दिवस मनाउन थालेको दुई दशक हुँदासम्म युवालाई विदेश पलायन हुनबाट रोक्न नसक्नुले युवा दिवस केबल औपचारिकतामा सिमित बनेको छ । राष्ट्रिय युवा परिषद्, प्रदेश युवा परिषद्सँगै जिल्ला–जिल्लामा रहेका युवा समितिहरु केबल राजनीतिक नियुक्तिको अखडा बनिरहेको छ । युवा परिषद् तथा समितिहरुले युवालाई जागरुक बनाई उनीहरुको क्षमताअनुसारको रोजगारी र स्वरोजगारीको अवसर दिलाउन नसकुञ्जेल यसको औचित्य देखिँदैन । युवालाई देश विकासको जिम्मेवारी दिनुपर्छ । राजनीतिमा युवालाई अवसर दिनुपर्छ । वर्षमा एकपटक सामान्य औपचारिकता पूरा गरी युवा दिवस मनाउँदैमा युवाप्रति न्याय हुन सक्दैन ।