पुस्तक ज्ञानको भण्डार हो । यो संसारमा पुस्तकको अभाव छैन । हरेक वर्ष विभिन्न विषयका थुप्रै पुस्तकहरु थपिने क्रम जारी छ । तर प्रकाशित र आवश्यक जति सबै पुस्तक पठनपाठनको सहज वातावरण बन्न निकै कठिन छ । नेपालजस्तो ग्रामीण क्षेत्र बढी भएको मुलुकमा आवश्यक र पठनीय पुस्तकहरु जताततै पाइनु सहज छैन । यही अभावलाई पूर्ति गर्दै सकेजति ठाउँमा पुस्तक पु¥याएर र पठनपाठनको व्यवस्था मिलाउनु निकै चुनौतीपूर्ण काम हो । यही चुनौतीको सामना गर्दैै देशका विभिन्न स्थानमा स्थापना भएका पुस्तकालयहरुले ज्ञानभण्डारको बिस्तार गर्ने काम गरिरहेका छन् । किताब अर्थात् पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि सामग्री व्यवस्थितरुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रलाई पुस्तकालय भनिन्छ । पुस्तकालय संस्कृत भाषाको “पुस्तक र आलय” दुई शब्द मिलेर बनेको हो, जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ ।

हरेक गाउँ र हरेक विद्यालयमा पुस्तकालय स्थापना हुनु अहिलेका लागि सपनाजस्तै भए पनि मकवानपुर जिल्लामा भने पुस्तकालय स्थापना र विकासमा केही आशाका किरणहरु देखिन थालेका छन् । केही युवाहरुले स्वतस्फूर्त र व्यक्तिगत लगानीमा पुस्तकालय अभियान समूह स्थापना गरी क्रियाशील भएका छन् । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा जिल्लामा एक दर्जनभन्दा बढी पुस्तकालय स्थापना गरिएका छन् । पुस्तकालय अभियान छिमेकी जिल्ला बारामा समेत विस्तार गरिएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले मकवानपुरमा पुस्तकालय स्थापनाको अभियान करिब एक वर्ष अघिबाट सुरुवात भएको हो । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा स्थापना भएको मनहरी सामुदायिक पुस्तकालयले प्रथम वार्षिकोत्सव मनाएको छ । सो अवसरमा पुस्तकालयले सहयोगीहरुलाई सम्मानसमेत गरेको छ ।

गत वर्ष साउन ९ गते पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा मनहरी गाउँपालिकाकै पहिलो पुस्तकालयको रुपमा मनहरी सामुदायिक पुस्तकालयको स्थापना भएको थियो । पुस्तकालय स्थापनाको योजना बनाए पनि कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा पुस्तकालय अभियान समूहको सहयोगमा पुस्तकालय स्थापना भएको र क्रमिक विकासको प्रयास भइरहेको बताइएको छ । पुस्तकालय स्थापनाको करिब एक वर्षमा ४ सयभन्दा बढी पुस्तक संग्रह गरिएका छन् । पुस्तकालयको विकास तथा विस्तारसँगै पुस्तकालयमार्फत् पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु चुनौतीपूर्ण नै छ । पुस्तकालयका लागि स्थानीय सरकारले विशेष ध्यान दिनु आवश्यक छ । हरेक स्थानीय तहको वडा–वडामा सामुदायिक पुस्तकालय र सबै विद्यालयमा व्यवस्थित पुस्तकालयको व्यवस्थापनमा स्थानीय सरकार गम्भीर बन्नुपर्छ ।

राज्यले “एक गाउँ एक पुस्तकालय” तथा “एक विद्यालय एक पुस्तकालय”को नीति अघि सारे पनि यसको प्रभावकारी कार्यान्वयन अझै धेरै टाढा छ । भएका पुस्तकालयलाई समृद्ध बनाउँदै नयाँ पुस्तकालय स्थापनामा राज्यको ध्यान पुग्न सकेको छैन । पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्यासमेत घट्दो क्रममा छ । सूचना प्रविधिको विकास र बिस्तारसँगै पठन संस्कृतिमा आएको ह्रासले पुस्तकालयको महत्वलाई कम देखिए पनि सूचना प्रविधिबाट सतही सूचनामात्र पाइन्छ, गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय अपरिहार्य हुन्छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालयको महत्व विशेष रहने गर्दछ । पछिल्लो समय विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीमै पनि पठन संस्कृतिको कमी हुँदै गएको अवस्थामा सबै शैक्षिक संस्थाले पुस्तकालयको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।