हेटौंडामा उच्च शिक्षाका लागि योग्य व्यक्ति नहुँदा काठमाडौंदेखि आएर क्याम्पसको नेतृत्व लिनु सामान्य विषय थिएन । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गर्दा जनशक्तिको अभाव थियो । क्याम्पसले स्वीकृति पाए पनि कक्षा सञ्चालनमै समस्या भएको अवस्थामा मुकुन्ददास श्रेष्ठ काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट काजमा हेटौंडा आएका थिए । संस्थापक प्रमुखको जिम्मेवारी सम्हालेका श्रेष्ठले २०४५ सालसम्म क्याम्पसको हैशियत निकै उठाइसकेका थिए । हेटौंडाको उच्च शिक्षामा उनको योगदान उच्च भए पनि लामो समयसम्म स्मरण गर्ने काम हुन सकेको थिएन । बल्ल मकवानपुर क्याम्पस एल्मुनाइको अग्रसरतामा श्रेष्ठको प्रतिमा अनावरण गरिएको छ ।
जिल्लाको उच्च शिक्षा विकासमा योगदान गरेर काठमाडौं फर्किएका श्रेष्ठको २०७२ को महाभूकम्पमा परी निधन भयो । क्याम्पसको विकास र विस्तारमा उनले दिएको योगदानलाई चिरस्थायी बनाउने काम एल्मुनाई एसोसिएसनले गरेको छ । जिल्लामा विशिष्ट योगदान गर्नेहरुलाई जीवित अवस्थामा सम्मान दिन सक्नुपर्दछ । यदि सकिएको छैन भने मृत्यु उत्प्रान्त पनि सम्झन आवश्यक हुन्छ । पूर्वजको सम्मान गर्न सकेमात्र भावि पुस्ताले वर्तमानलाई स्मरण गर्नेछ । आफ्नो पुस्तामा मात्र रमाउने हो भने कुनै पनि व्यक्तिको योगदान अर्को पुस्ताले थाहा नै पाउन सक्दैन । संस्कार, संस्कृतिहरु पुस्तान्तरण गर्न पुर्खाको योगदानलाई अभिलेखीकरण र संरक्षण हुन जरुरी छ । इतिहास बिर्सने हो भने भविश्य पनि अब्बल हुन सक्दैन ।
भूकम्पमा परी निधन भएका श्रेष्ठको प्रतिमा निर्माण वा उसलाई स्मरण गर्ने अन्य कुनै कार्य स्वयम् क्याम्पसको दायित्व हो । तर लामो समयसम्म कतैबाट चासो नदेखाइएपछि एल्मुनाई एसोसिएसनले अगुवाई गरेको देखिन्छ । पूर्वविद्यार्थी संगठनले प्रशंसनीय कार्य गरेको छ । तर यसको दायित्व जिल्लाको शैक्षिक क्षेत्रको जिम्मेवारी हुन आवश्यक छ । एल्मुनाई एसोसिएसनले चन्दा माग्दै मुकुन्ददासको मूर्ति बनाउनुपर्ने अवस्था अहिले पनि हैन । क्याम्पस प्रशासन, कार्यरत प्राध्यापकदेखि विद्यार्थी संगठनहरुले नेतृत्व लिनुपर्ने थियो । तर एल्मुनाईको अगुवाईमा अति सामान्य सहयोगबाहेक क्याम्पसबाट ठोस सहयोग देखिँदैन । आफ्नो संस्थापकप्रति क्याम्पसले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नु आवश्यक हुन्थ्यो । जे भए पनि क्याम्पस हातामा श्रेष्ठको मूर्ति स्थापना हुँदै गर्दा अब सबैले उनका बारेमा जानकारी पाउन सहज सामग्री व्यवस्थापन आवश्यक छ ।
क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्ददास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार बिहान अनावरण गरिएको छ । मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेलले श्रेष्ठको अर्धकदको प्रतिमा बनाएका हुन् । आफूलाई कुर्सी टेबुल हैन चक र डस्टर आवश्यक छ भन्ने श्रेष्ठ शिक्षाको क्षेत्रमा उदाहरण पात्र हुन् । क्याम्पस प्रमुख भएर पनि निरन्तर कक्षामा नै भेटिने श्रेष्ठलाई क्याम्पसका अघिल्ला पुस्ताहरुले मात्र स्मरण गर्न सक्छन् । पछिल्लो पुस्ताले संस्थापक क्याम्पस प्रमुखको योगदान र उनका आनीबानीबारे थाहा पाउनु पर्दछ । कसैले प्रतिमा राखिदिएको भरमा क्याम्पसले आफ्नो संस्थापकलाई सम्मान गरेको बुझ्नु हुँदैन । सबै क्षेत्रमा योगदान गर्नेहका बारेमा खोजी गर्ने र उनीहरुलाई सामाजिकरुपमा परिचित गराउने जिम्मेवारी अब स्थानीय तहले पनि लिनु आवश्यक छ ।