निर्वाचन आउँदै गर्दा विद्युतीय मतदानको चर्चा हुने गर्दछ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नं. १ मा विद्युतीय मतदानको व्यवस्था भएको थियो । त्यसपछि यो प्रणालीको प्रयोग नै हुन सकेको छैन । विश्वका धेरै देशहरुमा निर्वाचन भएको केही घण्टा वा दिनमा नतिजा सार्वजनिक हुने गरेको छ । तर नेपालमा अझै पनि हातले नै मतपत्र गन्नु पर्दा समय लाग्ने गरेको छ । आगामी निर्वाचनमा पनि प्रविधिको प्रयोग गर्ने भनेर निर्वाचन आयोगले पहल गरेको हो । तर अव चुनाव घोषणा हुनै लाग्दा पनि विद्युतीय मतदानका पक्षमा दलहरु उभिन सकेका छैनन् । दलहरु विद्युतीय मतदानका लागि तयार नहुनु भनेको प्रविधिमाथिको अविश्वासको रुपमा लिन सकिन्छ ।

विद्युतीय मतदान प्रणालीको प्रयोगमा अझै पनि प्रमाणीकरणको चुनौती छ । सरोकारवाला सबै पक्षबीच स्वीकार्य र प्रभावकारी बनाउने काममा सरकार र राजनीतिक दलहरुबीच एकमना विचार र चिन्तन आवश्यक छ । यसको प्रयोगले निर्वाचनमा हुने फाइदाभन्दा नकारात्मक सोचाई राख्दा नेपालमा यो प्रविधिको उपयोग हुन सकेको छैन । प्रविधिको प्रयोग चुनौती बन्नु पर्नेमा अविश्वास अघि बढेको छ । विशेषगरी ठूल दलका पुराना तथा ओहोदावालाहरुले प्रविधिमाथि विश्वास गर्न सकेको देखिँदैन । प्रविधिमार्फत् हुने निष्पक्षतादेखि दल र नेताहरु डराएका त हैनन् ? साम, दाम, दण्ड, भेदको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्नुपर्ने अवस्थामा नेताहरुले निष्पक्ष साधनको उपयोग हुन दिने कुरै भएन ।

नेपालमा प्रमाणीकरणका लागि कानुनीलगायतका व्यवस्था भइनसकेकाले मेशिनको वैधतादेखि विश्वसनीयतामा प्रश्न उठ्न पनि सक्नेछ । तर सफल प्रयोग भएको यो विधिलाई किन वास्ता गरिएको छैन भन्ने प्रश्न महत्वपूर्ण छ । मेशिनमा मतदानको गोपनीयता, मतको सुरक्षा र कुनै पनि किसिमको मतको हेराफेरी वा धाँधली हुनसक्ने अवस्था नरहेको विज्ञहरुको सुझावलाई दलहरुले स्वीकार गरेका छैनन् । धाँधली नै हुन नपाउने भनेपछि दलहरुले पनि मेशिनप्रति अविश्वास गरेको त हैन ? के निश्पक्ष निर्वाचनको पक्षमा दलहरु छैनन् ? हैन भने यो मेशिनको प्रयोग गर्न आवश्यक पर्ने बाटाहरु खोल्ने दायित्व र जिम्मेवारी स्थानीय तह तथा सरकारहरुकै हो । तर किन मौन छन् सम्बन्धित पक्ष र निकायहरु ?

सरकार तथा नेतृत्वलाई चुनौती दिने काम बालबालिकाहरुले गर्न थालेका छन् । आफ्नो कक्षाकोठाको मनिटरदेखि प्रमुखहरुको छनौट गर्न थालेका हुन् । यो अभ्यासले बालबालिका मात्रै हैन कि, घर परिवारमा पनि विद्युतीय मतदान के हो भन्ने जिज्ञासाको जवाफ दिएको छ । हेटौंडा–७, नागस्वतीस्थित तासिर इङ्लिस सेकेण्डरी स्कूलले विद्यार्थीबीच विद्युतीय मतदानको अभ्यास गरेको छ । विद्युतीय मतदान प्रक्रियाबाट विद्यालयले छात्र प्रमुख, छात्रा प्रमुखका साथै हाउस क्याप्टेन चयन गरेको हो । मतदान सम्पन्न भएको ५ मिनेटमै नतिजासमेत प्रकाशित गरिएको थियो । विद्यालयका साना नानीहरुले गरेको अभ्यासलाई शासन सत्ताको प्रयोगका लागि हुने निर्वाचनमा पनि उपयोग गरेर नतिजालाई छिटो सार्वजनिक गर्ने व्यवस्था हुन जरुरी छ ।