हेटौंडाः असार पहिलो साताबाट हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड बृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष स्थानीय तहले आफूअनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आधुनिकका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । प्रतियोगिताका मूल समारोह समितिका संयोजक मेयर लामा रहने व्यवस्था छ । यस अघि मकवानपुरको थाहा नगरपालिकाले राष्ट्रपति रनिङशिल्डको मिति सार्वजनिक गरिसकेको छ । थाहामा असार ३ गते शुक्रबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदैछ ।